झापा : झापाको बुद्धशान्ति गाउँपालिका–४ मा सवारीसाधन दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन घाइते भएका छन्।
मृत्यु हुनेमा अटोमा सवार बुद्धशान्ति–४ की २७ वर्षीया अमृता तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख गणेश पौडेलले जानकारी दिए।
उनका अनुसार प्र १–०१–००१ ज ३६३ नम्बरको अटोरिक्सा र चारआलीबाट इलामतर्फ गइरहेको प्र १–०१–००१ ज ३८५१ नम्बरको जिप एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा जिप चालक मेचीनगर नगरपालिका–१२ का ४० वर्षीय दिलकुमार थामी, अटोरिक्सामा सवार बुद्धशान्ति–४ की २१ वर्षीया कृतिका तामाङ र ४१ वर्षीया मञ्जु तामाङ घाइते भएका छन्।
उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अटो चालक ५३ वर्षीय अजय मोक्तानलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरू गरेको छ ।
Discussion about this post