इटहरी : सुनसरीका सक्रिय सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गरिने भएको छ ।
दुर्घटना बीमाका लागि इच्छुक सञ्चारकर्मीले आगामी आइतबार (२७ माघ)भित्र कागजात पेस गर्नका लागि एक सूचना जारी गरिएको छ ।
इटहरीबाट सञ्चालित डिजिटल पत्रिका प्रदेश खबर डट कम अनलाइनले आफ्नो स्थापनाको दुई वर्ष पूरा गरी तीन वर्षमा प्रवेश गरेको अवसर पारेर सुनसरीमा सक्रिय सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गर्न लागेको कम्पनीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
उनका अनुसार कम्पनीले बुधबार एक सूचना जारी गर्दै बीमा योजनाका लागि इच्छुक सञ्चारकर्मीहरूले अनिवार्य रूपमा नागरिकताको प्रतिलिपि, आबद्ध मिडिया हाउसको परिचयपत्र वा मिडिया हाउसको सिफारिस पत्र पठाउनुपर्ने छ ।
बीमा योजनाले सञ्चारकर्मीहरूको सुरक्षा र हौसला अभिवृद्धि गर्ने अधिकारीले बताए । बीमा गर्नका लागि कागजपत्रहरू प्रदेश खबरको इमेल आइडी khabarprades@gmail.com मा कागजात उपलब्ध गराउन सकिने बताइएको छ ।
वार्षिकोत्सवको अवसरमा प्रदेश खबर डट कमले फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेण्डमा ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ ।
जसमा विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरिने तयारी छ ।
Discussion about this post