धरान : धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगितामा समूह बी बाट समूह विजेता हुँदै उदयपुरको गाइघाट फुटबल क्लब अन्तिम चारमा प्रवेश गरेको छ ।
बुधबार धरान रंगशालामा भएको खेलमा सम्राट स्पोर्टिङ क्लब मोरङलाई १–० गोल अन्तरले पराजित गर्दै गाइघाट समूह विजेता बनेको हो ।
गाइघाटका लागि एक मात्र गोल प्रविन राईले गरेका थिए । खेलको म्यान अफ द म्याच गाइघाटका गोल किपर अनिल मगर घोषित भए । उनलाई नगद पाँच हजार पुरस्कार प्रदान गरिएको थियो ।
गाइघाटले पहिलो खेलमा लाइब्रेरी फुटबल क्लब भोजपुरलाई पराजित गरेको थियो । गाइघाट ६ अंकसहित समूह विजेता हुँदा ३ अंक मात्रै भएको सम्राट भने प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधबार नै समूह डी अन्तर्गत भएको खेलमा प्रगतिशील युथ क्लब ताप्लेजुङलाई १–० ले पराजित गर्दै बुइपा–११ खोटाङ समुहको शीर्ष स्थानमा उक्लिएको छ ।
बुइपा–११ का लागि जीवन परियारले निर्णायक गोल गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्रगतिशीलको धेरै प्रयास विफल बनाएका बुइपाका गोल किपर नवीन पोखरेल म्यान अफ द म्याच घोषित भए ।
उनलाई नगद पाँच हजार पुरस्कार प्रदान गरिएको थियो ।
यसअघि समूह डी अन्तर्गत ताप्लेजुङको प्रगतिशील युथ क्लब र सुनसरीको धरान फुटबल क्लबबीच भएको खेलमा दुवै टिमले खेल नियम विपरित खेलाडीलाई समावेश गरेको भन्दै उजुरी परेपछि दुवै टिमको अंक खोसिएको कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले बताए ।
दुवै टिमको अंक खोसिएपछि बुइपा–११ समुहको शीर्ष स्थानमा छ भने दुवै खेलमा अंक बटुल्न नसकेको प्रगतिशील भने प्रतियोगिताबाट बाहिरिएको छ ।
अब बुइपा–११ ले धरान फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । बुइपा–११ ले धरान फुटबल क्लबसँग बराबरी खेले मात्रै पनि समूह विजेता बन्नेछ । तर, धरानले बुइपालाई कम्तिमा २ गोलको अन्तरमा पराजित गर्दा मात्रै समूह विजेता बन्नेछ ।
बिहीबार समूह सी अन्तर्गत धनकुटाको देउराली युथ क्लब र इलामको रेड हर्ष क्लब खेल्नेछन् । त्यस्तैगरी समूह ए अन्तर्गत संखुवासभाको लोहोरुङ फुटबल क्लब र पाँचथरको पाँचथर युनाइटेड फुटबल क्लब खेल्नेछन् ।
समूह ए मा दुई टिम मात्रै रहेकोले यो खेल नै समूह विजेताको टुंगो लाग्नेछ ।
कोशी प्रदेश फुटबल संघको आयोजनामा फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरूको सहभागीता रहेको छ । ११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरूलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह विजेताहरूले लिगको उपाधिका लागि पुनः खेल्नेछन् ।
लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तर प्रादेशिक लिग खेल्न छनौट हुनेछन् ।
लिग विजेताले दुई लाख, उपविजेताले एक लाख ५० हजार, तेस्रो हुने टिमले एक लाख २५ हजार र चौथो हुने टिमले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
Discussion about this post