इटहरी : १५ औँ अन्तराष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उद्घाटन खेलमा पाहुना टोली युनाइटेड खर्साङ क्लब (यूकेएफसी)सँग आयोजक राष्ट्रिय जागृति क्लब (राजा)पराजित बनेको छ ।
शनिबार इटहरी रंगशालामा भएको उद्घाटन खेलमा यूकेएफसीले आयोजक राजा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । यससँगै यूकेएफसी अन्तिम चारमा प्रवेश गरेको छ ।
खेलको ११ औँ मिनेटमा आयोजक राजा क्लबका लागि विदेशी खेलाडी एलेक्सले गोल गरे । खेलको २१ औँ मिनेटमा यूकेएफसीका लागि सत्यम शर्माले गोल फर्काएका थिए । पहिलो हाफमा १–१ बराबरीमा खेलेपनि हाफपछि यूकेएफसीका लागि हेमराज भुजेलले थप १ गोल गर्दै टिमलाई सेमिफाइनलका लागि सिट सुरक्षित गरेको हो ।
खेलको म्यान अफ दि म्याच यूकेएफसीका सत्यम शर्मा घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।
खेलको उद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले गरेका थिए । उनले खेलकुद क्षेत्रको स्तरोन्नतिका उपमहानगर प्रतिवद्ध रहेको बताए ।
आयोजक राष्ट्रिय जागृति क्लब (राजा)का अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार गोल्डकपमा आठ वटा टिम सहभागी छन् । आइतबार सगरमाथा युथ क्लब मोरङ र न्यूरोड टिम काठमाडौँ (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ । सोमबार मछिन्द्र फुटबल क्लब काठमाडौँ र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ भने मंगलबार चर्च ब्वाइज युनाइटेड ललितपुर र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुने खेल संयोजक अनुरोध थापाले जानकारी दिए ।
उद्घाटन खेलको विजेता टिम यूकेएफसी र ५ गतेको विजेता टिमबीच पहिलो सेमिफाइनल खेल फागुन ७ गते हुनेछ भने फागुन ४ र फागुन ६ गतेको विजेता टिमबीच फागुन ८ गते अन्तिम सेमिफाइनल खेल हुनेछ ।
इटहरी उपमहानगरपालिकाको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेता टिमले पाँच लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले एक लाख, प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २० हजार प्राप्त गर्नेछन् । यसैगरी सर्वाधिक गोलकर्ता खेलाडीले नगद २५ हजार प्राप्त गर्नेछन् भने राइजिङ प्लेयरले एक थान एलइडी टिभी प्राप्त गर्नेछन् ।
यस वर्षको प्रतियोगितामा ८१ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने ८२ लाख आम्दानी गर्ने लक्ष्य राखिएको छ ।
Discussion about this post