धरान : धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको समूह चरणको खेलहरू सकिएसँगै सुपर लिगको खेल तालिका सार्वजनिक गरिएको छ ।
शनिबार धरान रंगशालामा पत्रकार सम्मेलन गर्दै लिग आयोजक कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले खेल तालिका सार्वजनिक गरेका हुन् ।
कोशी प्रदेशका ११ जिल्लाका जिल्ला लिग च्याम्पियनहरूको सहभागीता रहेको लिगमा ४ समुह बनाएर समूह चरणको लिग गराइएको थियो ।
जसअनुसार समूह ए बाट पाँचथरको पाँचथर युनाइटेड, बी बाट उदयपुरको गाइघाट फुटबल क्लब, सी बाट धनकुटाको देउराली युथ क्लब र डी बाट खोटाङको बुइपा–११ सुपरलिगमा प्रवेश गरेका हुन् ।
शनिबार सार्वजनिक तालिका अनुसार लिगको पहिलो खेलमा फागुन ४ गते बुइपा–११ र पाँचथर युनाइटेड खेल्नेछन् । दोस्रो खेल ४ गते नै गाइघाट र देउरालीबीच हुनेछ । त्यस्तै, ६ गते बुइपा र गाइघाट बिहान खेल्नेछन् भने दिउँसो पाँचथर र देउरालीले खेल्नेछन् ।
त्यस्तै, ८ गते बिहान पाँचथर र गाइघाट खेल्नेछन् भने दिउँसो बुइपा र देउरालीले खेल्नेछन् ।
लिगका आधारमा हुने खेलमा लिग विजेताले दुई लाख, उपविजेताले एक लाख ५० हजार, तेस्रो हुने टिमले एक लाख २५ हजार र चौथो हुने टिमले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तर प्रादेशिक लिग खेल्न छनौट हुनेछन् ।
कोशी प्रदेश फुटबल संघको आयोजनामा फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरूको सहभागीता थियो ।
Discussion about this post