इटहरी : सप्तकोशी नदीमा २२ वटा डल्फिन रेकर्ड गरिएको छ । कोशी नदीमा जेठ १५ गतेखि १८ गतेसम्म गरिएको डल्फिन गणनामा २२ वटा डल्फिन रेकर्ड गरिएको हो ।
जसअनुसार १५ वयस्क, ५ अर्धवयस्क र २ बच्चा डल्फिन फेला रेकर्ड गरिएको छ । यहाँ पछिल्लो पटक सन् २०२३ मा डल्फिन गणना गरिएको थियो । जहाँ १९ वटा डल्फिन गणना भएको थियो । २०२४ मा भने धेरै बाढी आएका कारण डल्फिन गणना गरिएको थिएन ।
राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमका अनुसार आज (बिहीवार) सार्वजनिक गर्दै कोशी नदीमा २२ वटा डल्फिन रहेको जनाएको हो । ‘बाढीको समयमा पानीको बहाव कम हुने क्षेत्रमा डल्फिन जान्छन्’, उनले भने, ‘कोशी ब्यारेजभन्दा माथिल्लो तटीय क्षेत्रमा डल्फिनले राम्ररी चहलपहल गर्न पाएका छैनन्। किनभने तल्लो तटीय क्षेत्रबाट माथिल्लो तटीय क्षेत्रमा आउने उपयुक्त संरचना छैन।’
कोशीटप्पु वन्यजन्तु आरक्ष, भीमकाली गुल्म, राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्र, हिमाली प्रकृति, कोशी बर्ड अब्जरभेटरीको सहभागितामा डल्फिन गणना गरिएको गौतमले जानकारी दिए ।
गणना कार्यमा १८ जनाभन्दा बढी स्वयंसेवक, गणक तथा विज्ञहरूको सहभागिता रहेको उनले बताए ।
डल्फिनको सिकार र तस्करी हुनबाट बचाउन पनि चुनौती रहेकाले यसबारे थप प्रशिक्षण एवम् जनचेतना फैलाउन आवश्यक रहेको उनको भनाइ छ ।
कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार नेपालको पहिलो रामसार सूचीमा सूचीकृत कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रको कोशी नदी तथा आसपासको बाढी भू–भागमा डल्फिनसहित विभिन्न जलचर वन्यजन्तुको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ ।
‘हालै सम्पन्न चारदिने वैज्ञानिक गणनामा २२ वटा डल्फिन र ४३५ वटा जलचर वन्यजन्तुहरू रेकर्ड भएका छन्,’ यादवले भने, ‘डल्फिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित स्तनधारी जनावर हो, जुन संकटापन्न सूचीमा समेत पर्छ। चैत १५ देखि १८ गतेसम्म सम्पन्न गणनामा १५ वयस्क, ५ अर्धवयस्क र २ बच्चा गरी २२ वटा डल्फिन भेटिएको छ ।’
सन् २०१२ मा ११ र २०१७ मा १७ वटा डल्फिन देखिएका थिए । त्यसपछि आरक्षले डल्फिनको संरक्षणमा प्राथमिकता दिएको थियो । त्यसपछि वार्षिक गणनाको अभ्यास थालिएको आरक्षले जनाएको छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षले २०२२ मा १७ डल्फिन तथा २०२३ मा १९ वटा डल्फिनको गणना गरेको थियो ।
आरक्ष कार्यालयका अनुसार यसपटक गणनामा अन्य महत्वपूर्ण जलचर प्रजातिहरू पनि रेकर्ड भएका छन् । जसमा मगरगोही, विभिन्न प्रजातिका माछाहरू, कछुवा, विभिन्न किसिमका पानीचराहरू, स्याल, साङ्लो, वन बिरालो, पानीहाँस, गैंडा लगायतका वन्यजन्तुहरू समावेश छन् ।
नेपालमा डल्फिन मुख्यतः सप्तकोशी र कर्णाली नदी क्षेत्रमा पाइन्छ। हाल नेपालमा १०० भन्दा कम डल्फिन रहेको अनुमान गरिएको बताइएको छ ।
संरक्षणमा सुधार नभएमा भविष्यमा यसको अस्तित्व गम्भीर संकटमा पर्ने खतरा रहेको विज्ञहरूले बताउँदै आएका छन् ।
Discussion about this post