भोजपुर : भोजपुरको उत्तर क्षेत्रमा रहेको षडानन्द नगरपालिकाको केन्द्र दिङ्लामा नगर अस्पताल सञ्चालनमा आएको छ ।
‘स्वास्थ्य नागरिक, जिम्मेवार पालिका’ भन्ने सन्देशलाई आत्मसात् गर्दै आज एक कार्यक्रमका बीच अस्पतालको औपचारिक शुभारम्भ गरिएको हो ।
त्यस अवसरमा नगरप्रमुख सुरेन्द्रकुमार उदासले अस्पताल सञ्चालनले स्थानीय नागरिकले घरछेउमै स्वास्थ्य सेवा प्राप्त गर्ने बताए ।
उनले भने, “पालिकावासीसहित छिमेकी पालिकाका नागरिकको स्वास्थ्य सेवालाई पनि प्रभावकारी बनाउन नगर अस्पताल सञ्चालनमा ल्याएका हौँ । अब अस्पताललाई व्यवस्थित र दिगो रूपमा सञ्चालन हुने वातावरणका बनाउन सबै लाग्न आवश्यक छ ।”
भारतीय राजदूतावासको सहयोगमा निर्माण गरिएको महात्मा गान्धी अस्पताल भवनबाट नगर अस्पताल सञ्चालनमा आएको हो ।
नगरपालिकाको वडा नं ७ मा स्थापना भएको अस्पतालले स–साना स्वास्थ्य सेवा लिन अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
यसअघि सानासाना स्वास्थ्य समस्याका लागि पनि यहाँ नागरिकले छिमेकी जिल्ला सङ्खुवासभा, धरान, विराटनगरजस्ता सहरमा जानुपर्ने बाध्यता रहेको थियो ।
नगर उपप्रमुख प्रमिला राईले आँखा उपचार सेवा सञ्चालन हुँदै आएकामा अब छिट्टै दन्त उपचार सेवा विस्तार गरिने बताइन् ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै नगरपालिकाले आवश्यक जनशक्ति र उपकरण थप गर्दै लाने योजना बनाएको पनि उनको भनाइ छ ।
स्थानीयवासीले उक्त अस्पतालले नगरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेमा आशावादी देखिएका छन् ।













Discussion about this post