विराटनगर : विराटनगर महानगरपालिका–८ स्थित जिल्ला कारागार मोरङमा कैदीबन्दी तथा थुनुवाको मृत्यु हुने दर लगातार बढ्दै गएको छ। यो आर्थिक वर्षको वैशाखयता मात्रै १३ जनाले ज्यान गुमाइसकेका छन्।
निरन्तर मृत्यु भइरहे पनि कारागारभित्रका स्वास्थ्य सेवा, भीडभाड र समग्र व्यवस्थापनप्रति राज्य जिम्मेवार तरिकाले उभिन नसकेको अधिकारकर्मीहरू बताइरहेका छन्।
बिहीबार मात्र कारागारमा रहेका दुई कैदीको मृत्यु भएको कारागार प्रशासनले पुष्टि गरेको छ।
मोरङको बेलबारी–३ का ४७ वर्षीय तेजबहादुर राईको बिहीबार राति ११ः२० बजेतिर नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।
जंगली हात्ती मारेको मुद्दामा दोषी ठहर भएका राईलाई श्वासप्रश्वास सम्बन्धी गम्भीर समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो।
यसैगरी मोरङको पथरीशनिश्चरे–५ का ६६ वर्षीय हर्कजंग लिम्बूको बिहीबार बिहान ४ः२० बजेतिर कोशी अस्पतालमा मृत्यु भएको छ। उनी कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद सजाय भुक्तान गर्दै आएका थिए।
अचानक शरीर सुन्निने र छाती दुख्ने समस्या देखिएपछि कात्तिक ४ गतेदेखि उपचाररत थिए।
वैशाखयता १३ जनाको मृत्यु
कारागार प्रशासनका अनुसार वैशाखदेखि मंसिरको दोस्रो साताभित्रै १३ कैदी–थुनुवाको मृत्यु भइसकेको छ।
१३ मध्ये ८ जना कैदी र ५ जना थुनुवा छन्। १ महिलालाई शौचालयमा झुन्डिएको अवस्थामा भेटिएको थियो।
बाँकी सबैको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको कारागार प्रशासनले जनाएको छ। मृतकमध्ये सबैभन्दा धेरै लागूऔषध र कर्तव्य ज्यान मुद्दाका व्यक्ति छन्।
कारागारका जेलर गौरव ढुंगेलका अनुसार लागूऔषध मुद्दाका ३, कर्तव्य ज्यान मुद्दाका ३, जबरजस्ती करणीका २, हाडनाता करणी, ठगी, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार तथा हात्ती मारेको कसुरका १–१ जना रहेका कैदीको मृत्यु भएको हो।
कारागारले उपलब्ध गराएको विवरणअनुसार मंसिरमै मात्र ३ जनाको मृत्यु भइसकेको छ।
कारागारमा बाध्यतापूर्वक भिड बढ्दै गएको, पर्याप्त स्वास्थ्य परीक्षण नहुँदो, दीर्घरोगी कैदीको समयमै उपचार नपाइने, मानसिक स्वास्थ्यसम्बन्धी सेवा अभाव र कमजोर व्यवस्थापनजस्ता समस्या मृत्युका घटनाका प्रमुख कारण रहेको अधिकारकर्मीहरूले बताउँदै आएका छन्।
लगातार बढिरहेका मृत्युका घटनाले मोरङ कारागारको क्षमता, सेवा र सुरक्षा व्यवस्थामाथि प्रश्न उठेपछि शुक्रवार राष्ट्रिय मानव अधिकार आयोगको टोलीले स्थलगत अनुगमन गरेको छ।
आयोगको कोशी प्रदेश कार्यालय विराटनगरबाट खटिएको मानव अधिकार अधिकृत तुलसा कार्की र चिरञ्जीवी कोइरालासहितको टोलीले कारागारको अनुगमन गरेको हो।
आयोगले कारागारको सरसफाइ, शौचालय, भान्सा, चमेना गृह, भेटघाट कक्षलगायतको निरीक्षणसमेत गरेको जनाएको छ।













Discussion about this post