धनकुटा : धनकुटा नगरपालिका–३ र ६ को सिमाना कागते क्षेत्रमा १३ फिट लामो अत्यन्तै विषालु राजगोमन (किङ कोब्रा) सर्प उद्धार गरिएको छ।
शनिबार स्थानीयको सूचनापछि महालक्ष्मी नगरपालिका–५ लेगुवाका सर्प उद्धारकर्ता प्रदीप श्रेष्ठले उक्त सर्पलाई जोखिमपूर्ण अवस्थामा सुरक्षित रूपमा नियन्त्रणमा लिएका हुन्।
समुद्री सतहबाट करिब १३०० मिटर उचाइमा रहेको बोधप्रसाद वाग्लेको गोठमा तीन दिनदेखि सर्प देखिएपछि स्थानीय त्रसित बनेका थिए।
उद्धार गरिएको सर्पलाई डिभिजन वन कार्यालय धनकुटासँग समन्वय गरी सुरक्षित रूपमा जंगल क्षेत्रमा छोड्ने तयारी गरिएको वडा नं. ३ का वडाध्यक्ष विकास घिमिरेले जानकारी दिए।
उद्धारकर्ता श्रेष्ठका अनुसार राजगोमन संसारकै सबैभन्दा लामो विषालु सर्पमध्ये एक हो। जसको टोकाइ अत्यन्त घातक हुन्छ र समयमै उपचार नपाए ज्यान जान्छ। “यो सर्प सामान्य अवस्थामा आफैँ आक्रमण गर्दैन, तर जोखिम महसुस गरे आक्रामक बन्ने गर्छ,” उनले भने।
विगत ९ वर्षदेखि सर्प उद्धारमा सक्रिय श्रेष्ठले पछिल्लो दुई वर्षमै धनकुटाका महालक्ष्मी, पाख्रीबासलगायतबाट पाँच वटा राजगोमन नियन्त्रणमा लिएर सुरक्षित रूपमा जंगलमा छोडिसकेको बताएका छन्।
उनका अनुसार पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण पहाडी तथा चिसो क्षेत्रमा समेत यस्ता विषालु सर्प देखिन थालेका छन्।














Discussion about this post