मोरङ : मोरङमा सुनजस्तो देखिने पहेँलो धातुको टिल देखाएर वृद्धवृद्धालाई ठगी तथा लुटपाट गर्ने गिरोह सक्रिय भएको पाइएको छ।
प्रहरीका अनुसार भीडभाड, सार्वजनिक बस र एक्लै हिँडिरहेका ज्येष्ठ नागरिकलाई लक्षित गरेर गिरोहले योजनाबद्ध रूपमा अपराध गर्दै आएको खुलेको हो।
यसपटक गिरोहको निशानामा परिन् बेलबारी नगरपालिका–१ की ७८ वर्षीया सावित्रादेवी घिमिरे। वैशाख २ गते छोरीको घर पथरीशनिश्चरेबाट बस चढेर घर फर्किने क्रममा उनी अपरिचित दुई व्यक्तिको फन्दामा परिन्।
प्रहरीका अनुसार ती व्यक्तिले सुरुमा ‘सुन पसल कहाँ छ ?’ भन्दै संवाद थाले। त्यसपछि ‘यूकेबाट ल्याएको सुन’ भन्दै सुनजस्तो देखिने पहेँलो धातुको टिल देखाएर वृद्धालाई विश्वासमा पार्ने प्रयास गरे। राजमार्गबाट एकान्ततर्फ लगेर उनीहरूले घिमिरेको गलामा रहेको १ तोला ६ आनाको सुनको सिक्री लुटेर फरार भए।
घटनापछि इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान थालेको थियो। सीसीटीभी फुटेज र सूचनाका आधारमा प्रहरीले झापाको कनकाई नगरपालिका–९ का ६१ वर्षीय धकलबहादुर थिङलाई पक्राउ गर्यो।
मोरङ प्रहरी प्रमुख कवित कटवालका अनुसार थिङ पुरानै ठगी गिरोहसँग आबद्ध व्यक्ति हुन्। उनी यसअघि पनि यस्तै घटनामा पक्राउ परिसकेका थिए।
प्रहरी अनुसन्धानले यो कुनै एकल घटना नभई पूर्वी नेपालमा सक्रिय संगठित गिरोहको शैली भएको देखाएको छ। मोरङ, झापा र सुनसरीका हटिया, अस्पताल, मेला, पर्व र सार्वजनिक सवारीमा पुगेर वृद्धवृद्धा तथा सोझा सर्वसाधारणलाई निशाना बनाउने गरिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार गिरोहले नक्कली सुन देखाएर लोभ्याउने, विश्वासमा पार्ने र अवसर मिल्नेबित्तिकै गरगहना लुट्ने रणनीति अपनाउने गरेको छ। विशेषगरी एक्लै यात्रा गरिरहेका वृद्धवृद्धा उनीहरूको मुख्य लक्ष्य बन्ने गरेका छन्।
यसअघि पनि बेलबारीमै यस्तै प्रकृतिको अर्को घटना भएको थियो। चैत ९ गते बेलबारी–४ की ६२ वर्षीया धनीमाया तामाङको कानमा लगाएको सुनको रिङ नक्कली सुन देखाएर लुटिएको थियो। प्रारम्भिक अनुसन्धानले त्यस घटनामा पनि थिङकै संलग्नता देखाएको प्रहरीको दाबी छ।
प्रहरीले हाल फरार रहेका अर्का अभियुक्तको खोजी जारी राखेको छ। साथै अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न, सुन वा पैसासम्बन्धी कुनै प्रस्ताव आए तुरुन्त प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।














Discussion about this post