संखुवासभाको मकालु गाउँपालिका– ५ फ्याक्सिन्दा बेसीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने एक गम्भीर एक घाइते भएका छन् ।
मृत्यु हुनेमा मकालु गाउँपालिका– ३ हेदाङ्नागढी घर भएका ४२ वर्षीय खड्गबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष बुढाथोकीले जानकारी दिएका छन् । टिपरको ठक्करबाट मृतककी श्रीमती प्रेमकुमारी राई गम्भीर घाइते भएकी छिन् ।
प्रहरी निरीक्षक सन्तोष बुढाथोकीका अनुसार कामको सिलसिलामा घरबाट नुमबजारतर्फ आउने क्रममा अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामस्थलनजिकै नुमबजारभन्दा केही तल फ्याक्सिन्दा बेसीमा भारतको बिहार प्रदेशको ७६१० नम्बरको टिपरले उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।
जिल्लामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत टिपरचालक सुवास चौलागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रेमकुमारीको नुमबजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post