इटहरी : संखुवासभाको मादीमा भएको सामूहिक हत्याकाण्डका मृतकहरुको इटहरीमा अन्त्यष्टि गरिएको छ ।
बुधबार (आज) इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा अन्त्यष्टि गरिएको हो ।
संखुवासभाको मादी नगरपालिका १ खोलागाउँको उम्लिङमा सोमबार एकै परिवारका छ जनाको बीभत्स हत्या भएको थियो । सोमबार ८५ वर्षीय बौदमान कार्कीको परिवारका छ जनाको सामूहिक हत्या भएको हो ।
प्रहरीका अनुसार बौदमानकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर, बुहारी (तेजबहादुरकी पत्नी) ५२ वर्षीया कमला तथा तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको हो ।
उनीहरूको बुधबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएसँगै इटहरीको मुक्तिघाटमा अन्त्यष्टि गरिएको हो ।
उनका अनुसार संघीय प्रहरी इकाई कार्यालय धरानबाट एसपी भीम दाहालको नेतृत्वमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले अनुसन्धानका लागि ‘ट्र्याकर’ डग पिकु र लैलालाई प्रयोग गरेको छ । तेजबहादुरका दुई छोराहरू जेठो रमेश र कान्छो नरेश वैदेशिक रोजगारीमा थिए । नरेश आएसँगै उनीहरूको अन्त्यष्टि गरिएको हो ।
पीडितका आफन्त तिलक कार्कीका अनुसार परिवार तथा देशकै लागि अत्यन्त कारुणिक घटना भएको छ । घटनाको पहिचान हुनुपर्ने बताउँदै उनले भने, ‘सानो अबोध बालकदेखि वृद्वासम्मको हत्या गरिनुको जति विरोध र भत्र्सना गरेपनि पुग्दैन ।’ उनले चाँडै घटनामा संलग्न दोषीलाई कडा कारबाही हुनुपर्ने माग राखे ।
भिडियो














Discussion about this post