इटहरी : झुम्का कारागारमा दुई समूहबीच झडप भएको छ । कारागारका ‘ए ब्लग’का चौकीदार जोन नाल्बो र ‘बी ब्लग’का चौकीदार खड्गबहादुर राईको सरुवा भएपछि को चौकीदार बन्ने भन्ने विषयमा झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापाले घटनाको कारणबारे आफूलाई थाहा नभएको भएपनि दुई समूहबीच झडप भएको जानकारी दिए ।
‘घटनाको कारणबारे मलाई पनि सबै जानकारी भएन, तर दुई समूहबीच झडप भएको हो,’ उनले टाकुरासँग फोन सम्पर्कमा भने, ‘घटनामा ६ जना घाइते भएकाले उपचारका लागि वीपी प्रतिष्ठान धरान पठाइएको छ ।’
यता, झुम्का कारगारका जेलर प्रदीप शाहका अनुसार बुधबार दिउँसो ‘ब्लग बी’ का कैदीबन्दीको समूहले झडप गर्दा २५ जना घाइते भएका छन् ।
जसमध्ये ६ जनालाई थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ भने बाँकी अन्यको सामान्य उपचारपश्चात कारागारमै रहेको शाहले जानकारी दिए ।
झुम्का कारागारको ‘बी ब्लग’का चौकीदार खड्गबहादुर राई र ए ‘ब्लग’का जोन नाल्बो लिम्बूलाई मुढा बनाउने कच्चा पदार्थ खरिद गर्न बजार निस्किएको समयमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय इनरुवा लगेको थियो ।
उनीहरूलाई उतैबाट सरुवा गरेको खुलेको थियो । स्रोतका अनुसार राईलाई डिल्लीबजार कारागार र लिम्बूलाई भीमफेदी कारागारमा सरुवा गरिएको छ ।
उनीहरूको सरुवा भएपछि कैदीबन्दीहरूले कारागारमै मंगलबार साँझ नाराबाजी समेत गरेका थिए । यसै सन्र्दभमा बुधबार दिउँसो कैदीबन्दी को बन्ने भन्ने विषयमा झडप भएको बुझिएको छ ।














Discussion about this post