मोरङ : मोरङको जहदा गाउँपालिका २ हरिनगरा टोलस्थित बिहे घरमा शुक्रबार बिहानको राति हतियार प्रहार भएको छ । हतियार प्रहारबाटछ बालकसहित दुई जना घाइते भएका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार विजय राजभरको छोरीको बिहे चलिरहेका बेला जन्ती पक्ष र घरगाउँले बीच विवाद हुँदा बिहान २ः३० बजेतिर घटना भएको हो ।
घटनामा परेर जहदा २ का ३५ वर्षीय भविष गिरी र १५ वर्षीय अवदेश राजभर घाइते भएको बस्नेतले जानकारी दिए । जन्ती आएका युवाले उनीहरूमाथि हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये भविषलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको छ । अवदेश भने सामान्य उपचारपछि घर फर्किएका छन् ।
उनीहरूमाथि हतियार प्रहार गरिएको घटनामा संलग्न जहदा ५ का २१ वर्षीय कृष्ण सिंहलाई इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेको छ । ‘घटनाको प्रकृति र घाइतेको चोटको अवस्था हेर्दा हतियार नै प्रहार भएको प्रष्ट हुन्छ,’ डीएसपी बस्नेतले भने, ‘तर, हालसम्म हतियार बरामद भइसकेको छैन ।’
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post