विराटनगर : नोना कोइराला स्मृति प्रतिष्ठान विराटनगरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा तीन सयभन्दा बढी लाभान्वित भएका छन् ।
बूढीगंगा गाउँपालिका केएचडीसी नेपालको सहयोगमा बूढीगंगा वार्ड नम्बर ४ मा अवस्थित सरस्वती आधारभूत स्कुलमा भएको एकदिने निःशुल्क स्वाथ्य शिविरबाट तीन सय जनाभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका हुन् ।
बूढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले उद्घाटन गरेको शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. सन्जीवकुमार शर्माले निःशुल्क स्वास्थ्य शिविरबाट इको, फोक्सो, इसिजी र सुगर टेस्टलगायतका स्वास्थ्य उपचारमा सहयोग पु¥याएको प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले जानकारी दिए ।
श्रीवास्तवका अनुसार उक्त शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
नोना कोइराला स्मृति प्रतिष्ठानकी अध्यक्ष पुनम कोइराला, वडा नं. ४ का वडाध्यक्ष शशीकान्त चौधरीलगायतको उपस्थितिमा भएको शिविरमा विभिन्न स्वास्थ्य जाँच गरिएको थियो ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नी आमाको नाममा बूढीगंगा गाउँपालिकाका प्रत्येक वडामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको अध्यक्ष थापामगरले बताए ।
अध्यक्ष थापामगरका अनुसार प्रत्येक महिना उक्त गाउँपालिकाका सात सय भन्दा बढी मानिसले स्वास्थ्य उपचार पाइराखेका छन् ।
शिविरमा दुई जना मुटुका जटिल बिरामीलाई काठमाडौं पठाइएको छ ।
बूढीगंगा गाउँपालिकाभित्र बसोबास गर्ने दलित, विपन्न र पिछडिएका समुदायलाई लक्षित गरेर स्वास्थ्य शिविर आयोजना गरिएको महासचिव श्रीवास्तवले जानकारी दिए ।














Discussion about this post