इटहरी : इटहरी कराँते एकाडेमीका खेलाडीहरूले मंसिर ६ गते शनिबार झापा जिल्लाको मेचीनगर नगरपालिकामा सञ्चालित दोस्रो मेचीनगर खुल्ला कराँते च्याम्पियनसीमा कूल १७ स्वर्ण पदक, ७ सिल्भर र १६ कास्य पदक जित्दै जित्दै सहभागि मध्येमा उत्कृष्टता हासिल गरि प्रथम भएको छ । कोशी प्रदेशस्तरीय उक्त खेलमा जम्मा १४ वटा टिमहरूको सहभागिता रहेको थियो ।
जसमा इटहरी कराँते एकाडेमीले सबैभन्दा बढी स्वर्ण पदक जितेर प्रथम भई सिल्ड समेत हात पारेको आयोजकले जनाएका छन् ।
इटहरीमा २०७५ सालदेखि कराँते प्रशिक्षण गराउँदै आएका अन्तराष्ट्रिय कोच तथा राष्ट्रिय रेफ्री सागर राउतले आफ्नो मिहिनेत र बन्द प्रशिक्षणमार्फत उत्कृष्ट खेलाडीहरू तयार गरि खेलमा सहभागिता जनाएको र आफ्ना खेलाडीहरूको प्रदर्शन पनि सबै भन्दा उत्कृष्ट भएको बताए ।
अभावका बीचमा पनि खेलाडीहरूले उत्साहजनक नतिजा निकालेको उनको भनाइ छ ।
स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरूमा रोनक अग्रवाल, रेहन चौधरी, टाँसी तामाड., समीर राई, योसन बुढाथोकी, सुदीप दर्जी, सुशील लिम्बू, अर्दुज महलदार, साङ्गहाङ्ग लिम्बू, खेमराज खत्री, रियन थापा, अष्टिन उप्रेती, अभयकुमार शाह, बर्षा सुवेदी, कृष परियार, एन्जल श्रेष्ठ, शिल्पा श्रेष्ठ, अनुजा चौधरी, अर्शु खनाल रहेका छन् ।
उनीहरूले २० के.जी.देखि ६० के.जी.तौल समूह सम्ममा प्रतिष्पर्धा गरेका थिए ।
एकाडेमीका खेलाडीहरूले बंगलादेशको राजधानी ढाकामा दक्षिण एशियास्तरीय छैटौं अन्तराष्ट्रिय खुल्ला कराँते च्याम्पियनसीपमा सातवटा स्वर्ण पदक जितेर आएका थिए ।
६ वटा देशको सहभागिता रहेको उक्त खेलमा जापान, भारत, भुटान, श्रीलंका, बंगलादेश र नेपालको सहभागिता रहेको थियो ।
यसैबीच इटहरी रंगशालामा रहेको कराँते प्रशिक्षण हलमा बिजुलीबत्तीको समेत व्यवस्था नभएको बेलासमेत खेलाडीहरूले राम्रो प्रदर्शन गरेर देशकै नाम खेलकुद क्षेत्रमा उच्च बनाएको भन्दै वडा नं. ९ का वडाध्यक्ष जितेन्द्र थापाले कवर्डहलमा बत्ती जडान गरेका छन् ।
दिनभरि विद्यालय पढेर आएका विद्यार्थीहरूलाई साँझ ५ बजेदेखि उक्त कवर्डहलमा कराँते प्रशिक्षण गराँदा अध्यारो हुन्थ्यो ।
प्रशिक्षक राउत आफैँले एउटा इमरजेन्सि लाइटको व्यवस्था गरेर समेत प्रशिक्षण गराउँदै आएका थिए ।
बिजुली बत्ती जडान भएपछि खेलाडीहरूलाई अझ राम्रोसँग प्रशिक्षण गराउन सकिने र आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्दै देश विदेशमा इटहरी र देशकै नाम कराँते खेलको माध्यमबाट उच्च राख्न मिहिनेत गर्ने राउतले बताए ।














Discussion about this post