इटहरी : तेस्रो इन्टर–कलेज टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत सोमवार सम्पन्न पहिलो खेलमा विश्व आदर्श कलेजले कस्तुरी कलेज इटहरीलाई २३७ रनको विशाल अन्तरले पराजित गरेको छ।
विश्व आदर्श कलेजले टस जितेर पहिले ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा १ विकेटको क्षतिमा २७८ रन बनाएको थियो।
आकाश सराफले ५० बलमा ११२ रनको शतकीय इनिङ खेले भने रोशन खत्रीले नटआउट रहँदै ५९ बलमा १०३ रन बनाए। सकुशल श्रेष्ठले १८ रन जोडे। बलिङतर्फ कस्तुरी कलेजका सिद्धार्थ यादवले १ विकेट लिए।
२७९ रनको विशाल लक्ष्य पछ्याएको कस्तुरी कलेज १३ ओभरमै सबै विकेट गुमाउँदै ४२ रनमा समेटियो। कस्तुरीका तर्फबाट आशिष अग्रवालले सर्वाधिक १५ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
विश्व आदर्शका भुपाल लुइँटेलले ६ विकेट तथा अनिश कुँवरले ४ विकेट लिए। खेलको म्यान अफ द म्याच आकाश सराफ घोषित भए।
सोमवार नै भएको दोस्रो खेलमा कान्तिपुर कलेज विराटनगरले रेड स्टार कलेज पथरीलाई ४२ रनले पराजित गरेको छ। टस जितेर पहिला ब्याटिङ गरेको कान्तिपुर कलेजले १७ ओभरमा १४६ रन बनायो।
निश्चल गुप्ताले ४३, शम्भु मण्डलले ३७ र मन्नु दासले ४३ रनको योगदान दिए। रेड स्टारका शुधिर बस्नेत र अभिषेक बी।के।ले समान १–१ विकेट लिए।
१४७ रनको लक्ष्य पछ्याएको रेड स्टार कलेज १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०४ रनमा अलआउट भयो। रेड स्टारका शुधिर बस्नेतले ३८ र अभिषेक बिकले २८ रन बनाए।
कान्तिपुरका सन्तोष गुप्ताले ३ विकेट लिँदा मनिश यादव र आदित्य शाहले समान २–२ विकेट तथा अर्बिन्द मण्डलले १ विकेट लिए। खेलको म्यान अफ द म्याच कान्तिपुर कलेजका निश्चल गुप्ता घोषित भए।
पुस २६ गतेसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका १२ कलेज सहभागी छन्।
प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।














Discussion about this post