Monday, August 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

परिवर्तनका लागि ‘जब कविता निस्कन्छ जुलुसमा’

तेजविलास by तेजविलास
कार्तिक १, २०८२
in कला साहित्य
0
दशैंको धुम्म आकाशमा आशाको दीप
72
SHARES
Share on FacebookShare on Twitter

कठोर सङ्कल्पको उकालो यात्रा गर्नैपर्छ
केही टाइफुन र ज्वारभाटा उठ्नैपर्छ
पस्नै पर्छ चुनौतीको भुङ्ग्रोमा
दिनैपर्छ श्रद्धाञ्जली
रूढीग्रस्त विचारको पार्थीव शरीरमाथि
प्रश्नको भार्तोलले
सुम्सुम्याउनै पर्छ निदाएको इतिहासलाई

माथि प्रस्तुत गरिएका कविताशं कवि सुरज रानाको ‘जब कविता निस्कन्छ जुलुसमा’ २०८१ कविता सङ्ग्रहभित्र सङ्ग्रहित ‘परिवर्तन’ शीर्षकको कविताबाट लिइएको हो ।

कवितामा पछिल्लो पुस्ता अलि भिन्न ढङ्गले आफूलाई प्रस्तुत गरिरहेछ । पदका लागि राजनीति गर्ने, आफ्नो विरासतका लागि राजनीति गर्ने वा अकुत सम्पत्ति पचाउनका लागि राजनीति गर्ने यी सबै खाले प्रवृत्तिप्रति युवा कविहरू आक्रमक ढङ्गले प्रस्तुत भएका छन् ।

नेपालको माटो कुनै एउटा जाति, भाषिक समूह वा वर्गको मात्र होइन । यहाँ रहेका हरेक व्यक्तिले आफ्नो देश हो भन्ने अनुभूति गर्न सक्नुपर्छ । अर्थात् कविताले नवीन कोणबाट सभ्यताको इन्द्रेणी खोजिरहेछ, अस्तित्वको आयाम अन्वेषण गरिरहेछ ।

आफूलाई कसैले नेता घोषणा गर्न सक्छ, केही मानिसहरूले हालेको भोटमध्ये धेरै भोट पाएकाले जितेर प्रतिनिधि बन्न सक्छ तर त्यसले गर्ने व्यवहारले राज्यको स्तर निर्धारण हुने हो ।

सदियौँदेखि राज्यसत्ता निरङ्कुश छ । राज्यको नीति निर्माणका तहमा रहेका मानिसहरू आफूलाई नै राज्य ठान्दछन् तथापि त्यस्तो होइन । राज्य दैनन्दिन एउटा असफल राज्यको रूपमा अगाडि बढिरहेको सन्दर्भमा युवाहरूले विद्रोहको आगो र व्यवस्थापकीय क्षमतामा रहेको अब्बल कुलमान शैलीमात्र बलियो राज्यका निम्ति उपयुक्त हुन पुग्छ ।

सुरज राना एउटा अलि बिछट्टै स्वाद पस्कने कवि हुन् । उनका प्रत्येकजसो कविताले विविधताको इन्द्रेणी निर्माण गरेको भेट्टाउन सकिन्छ । कविता कलामा झन्डै दुई दशकको अभ्यास गरेका सुरजले आफूलाई भीडमा चिनाउन सक्ने गरी उभ्याएका छन् ।

उनको कविता नपढ्ने वा नभेट्नेहरूको हकमा केही भन्नु छैन । साँच्चै उनको कविता फुटकर रूपमा भेटेको पाठकले एकचोटि ‘जब कविता निस्कन्छ जुलुसमा’ खोजेर पढ्छ पढ्छ ।

कवि स्वप्निल स्मृतिले भनेझैँ उनी नेपाली कविताको आजको सन्दर्भमा ‘जड चिन्तन र पुनरावृत्तिगत भाषाशैलीमा जकडिएर बसेकी जुन सोत्तर काव्य समय छ अहिले त्यसैमा एक सुन्दर विस्फोट हो ।’

एउटा समयको यात्री जो समय भित्रमा अनेक यात्राबाट साँच्चै क्यानभासमा कोलाज भर्छन् र दर्शकलाई हेरिरहँु जसरी तय गरिदिन्छन् कलात्मक कोसेली ।

उनका शब्दले कहिले भूपि शेरचन, कहिले गोपालप्रसाद रिमाल त कहिले कृष्णसेन ‘इच्छुक’को झल्को मेटाउँछ । मूलतः नेपाली समाज र विश्व साम्राज्यको मसिनो विषयलाई गहिरोगरी नजरले देखेको कुरालाई उनले नलुकाइकन प्रष्ट पारिरहँदा उनीमाथि पुरातनवादीहरूले पहिचानवादी आरोप पनि लगाउन सक्छन् । सिङ्गो राज्यका दृष्टिमा कवि एउटा आतङ्ककारी जस्तो पनि लाग्न सक्छ ।

सत्ताको साँचो लिएर जनतालाई देखाइ–देखाइ जनतारूपि मौरीले सञ्चय गरेको मह अर्थात् राष्ट्रिय ढुकुटीलाई रित्याउने मलसाँप्रोहरूले यस्तो सोच्नु वेमनासिब पनि त होइन नि । कविलाई जात, थर, क्षेत्र, लिङ्गको हिसाबमा हेर्ने होइन कविलाई त कविताको शक्तिभित्र हेर्नुपर्छ र त्यो शक्तिले समाजको पुनर्निर्माण गर्ने सामथ्र्य राख्छ वा राख्दैन विचार गर्नुपर्दछ ।

हो यही कोणबाट हेर्दा रानाका कविताहरू अँध्यारोको अगुल्टो हो । सहारा नपाएर पथरा परेका यात्रीको सहारा हो । औषधि नपाएर मर्न लागेका रोगीका लागि यार्सागुम्बा हो । परख गर्न सक्नेका लागि प्रत्येक बुटोको प्रत्येक अङ्गमा जडिबुटी तत्व वा औषधीय गुण छ ।

कवि रानाको कविताको विश्लेषण गर्न त्यति सजिलो छैन जति सजिलो बोध गर्नमा छ । त्यसो त यहाँ कविको कविताले पारेको प्रभावबारेमा नै केही अक्षर दगुरेको हो ।

उनको कविताले बोल्ने र बोक्ने कुरा नै उनको विचारको स्रोत हो । उनले कसका लागि कविता लेखेका छन् भन्ने विषय नै उनको पक्षधरता हो । एउटा लघु आकारको कविता जब लाग्छ सर्वहारा वर्गको उदय र सङ्घर्षको महाकाव्य ।

जस्तै :

एउटा राज्य
जहाँ रछ्यान र रछ्यानमा बन्दुक भेटिन्छ
र त्यहीँ सडक बालक पनि बस्छ
सडक बालक
जोसँग निसाना ताक्न सक्ने आँखा छन्
तुफान बोकेका खुट्टा छन्
हातका औँलामा ट्रिगर दाग्न सक्ने सामथ्र्य छ
बहुत खतरनाक वास्तविकता के हो भने
उसको पेटलाई भोक लाग्छ ।

‘राज्य र सडक बालक’ शीर्षकको जम्मा नौ पङ्क्तिको कविताले जब आज विश्वले भोगेको पीडाको विराट स्वरूप र सूक्ष्म सूत्रलाई अभिव्यक्त गर्छ । लाग्छ कविता लेख्न चाहँदैमा लेख्न सकिने लिखत होइन, जो सरकारी सुविधामा बसेर अनि, पनि, तापनि जस्ता संयोजक लगाएर गरिएको अदालती फैसलाको पूर्ण पाठ होस् ।

कविताले नेपाली माटोको आजको ताजा बहस अनि विश्व विजेता राष्ट्रहरूले जन्माइरहेको हिंसाको सन्तानप्रति निकै गहन प्रस्तुति दिएको छ । राज्य केका लागि बन्यो ? यसले कसको सेवा गरिरहेछ ? यसको विपक्षमा किन भोकाहरूको लाम लागेको छ ?

भूगोलको विषयले मात्र पुग्दैन कवि सुरजका कविताहरू बोध गर्नका लागि त अर्थतन्त्र भोकको समाजशास्त्र र विभेदको मानवशास्त्र पनि बुझ्नैपर्ने हुन्छ ।

आज प्यालेस्टाइन नानीहरू र आमाहरू के सोचिरहेका होलान् ?

नेपालमा गणतन्त्र ल्याउन जनयुद्धमा होमिने सहिने, बेपत्ता र घाइतेहरूको परिवारले हिंसा भन्ने शब्दलाई कसरी बुझेको होला ? के हामीले विचार गर्नुपर्दैन ?

विवेकलाई बर्गर र पिज्जासँग साटेर सिंहदरबारको भत्तामा रमाउनेहरूले कहिल्यै सोचे नगारिकको न्यूनतम आवश्यकता अनि त्यसको जगमा क्रान्ति उभिने कुरा ।

हो, नेपाली समाजको सबै पक्षलाई राम्ररी नबुझेको विशुद्धतावादी एउटा नश्लीय चेत मात्र भएको पात्रहरूका लागि उनको कविता पहिचानवादी वा अराजक लाग्न सक्छ । हो, कविता अराजक नै हुनुपर्छ र हुन्छ ।

शासकको गुणगान गाएर लयात्मक महाकाव्यरूपि प्रशस्ति त एउटा चाकरीबाज लेखन्दासले लेख्न सकिहाल्छ नि ! समाज र समानताको नस नाता खोज्नेहरू त अराजक मात्र के विद्रोही भनेर मारिएकै पनि त हो । अलिकता आगोको झिल्को नभए के बिजुली चम्केको दृश्य के मेघमालाको सौन्दर्य ?

यस्तो लाग्छ कति गहिरो हुन्छ अनुभूतिको सामथ्र्य अनि आशाको सञ्चारको यात्रा । कवि रानाका ‘आशा’ कविताले बोलेका कुरा पढ्न पाएका छैनन् भने छापामारहरूले त्यसको कुनै मूल्य हुने छैन ।

स्वतन्त्रताको कल्पना गरिरहेछ विद्रोही
रातको निक्खर अँध्यारोमा जुनकिरी पिल्पिलाई रहेछ
टाकुरामा उभिएको सपना देखिरहेछ आरोही
आमा हेरिरहनु भएको छ – उडिरहेको हवाइजहाज ।

मान्छे आखिर यही चार हरफमा अल्झेको छ । उसका उचालिएका पाइलाले खोज्नै पर्दछ जनमुक्तिको शिविर अनि मात्र पूरा हुन्छ स्वतन्त्रता र समानताको यात्रा ।

आज स्वतन्त्रता र समानताका लागि जीवन दिनेहरूको अवस्था कस्तो छ ? सो विषय पनि कवितामा पाउन सकिन्छ । कति सजिलै साटिदिन्छन् गरिबीसँग दलालहरू आफ्नो स्वार्थ;

त्यतिबेला लाग्दैन थियो कि
हाम्रो सपनालाई
कुनै दिन बनाइनेछ जुत्ता
जसलाई लगाएर दलालहरूले
सत्ता यात्रा गर्नेछन् ।

आजको संसार वित्तीय पुँजीवादको विकृत रूपमा रमाइरहेको छ । जस्तो उत्पादन सम्बन्ध छ त्यहाँ हुने राज्य व्यवस्थाको स्वरूप पनि त्यही खालको हुन्छ । सपना देख्नु, उज्यालो अनुभूति गर्नु र साँच्चै जीवन यथार्थलाई नियाल्नुमा कति धेरै अन्तर छ ।

आज राष्ट्रिय योजना निर्माणमा देखिएको विचौलियाको दबदबा, न्यायालयको निर्णयमा रहेको प्रभावभित्रको कारकतत्व यति मात्र नभएर काम गर्नेलाई लखेट्न गरिएका कुकृत्यहरूले व्यक्तिको सोचलाई साकार बनाउन खुल्ने गरेका उद्योग र जनताको आवाजमा गरिएको निषेधले पक्कै कवितालाई बुझ्न र कविताले वस्तुस्थितिलाई प्रतिनिधित्व गरेको ठम्याउन सकिन्छ ।

हिँड्नु भनेको साथीहरू भेटिनु पनि हो
हिँड्दै जाँदा धेरै साथीहरू भेटिए

आफ्नो चेतनारूपि यात्राको ग्राफ देखाउँछ कवि कल्पनाको विराट महलभित्र उपायहरूको खोजी गर्न पुग्छन् । कविको कविता शिल्प भिन्न लाग्छ अन्य कविहरूको तुलनामा र भन्न मन लाग्छ कविहरू सुन्दर सपना देख्न र असहज जीवनका घुम्तीहरूमा पनि हरेश नखान लेखिरहन्छन् । तथापि, कवि पछिल्लो समयमा के थाकेका हुन् ? पाठकले यहाँ प्रश्न गर्नैपर्ने बनाउँछन् ।

अन्ततः
लामो यात्रा र थकानपछि
सङ्घर्षको लगातार चेष्टापछि
कठोर त्याग र तपस्याको परीक्षापछि
उद्देश्यको टाकुरामा एक्लै उभिएको छु अहिले
यहाँ केवल शान्त मौसम छ
मेरो शिरमा मोती टल्किरहेछ
चकमन्न शून्यतामा पुतली उडिरहेछ ।

यथार्थ चित्रण मात्र साहित्य होइन झैँ लाग्छ । अलिकता आशा, अलिकता सङ्घर्ष अनि त्यसले जगाउने उत्साहको कुरा कवितामा छुटेको जस्तो लाग्छ । कवि एकाध कवितामा यसरी चिप्लिएकै हो । तर, उनको चेतनाले सङ्घर्षको यात्रामा कुनै पूर्णविराम वा अर्धविराम छैन भन्ने तथ्यलाई सहजै उद्घोष गर्दछु ।

जब बिँडी फुकेर मुस्कुराइरहन्छ निरङ्कुशता
तब बन्दुकले कविता लेख्न थाल्छ ।

हो, बन्दुकको नालबाट स्थापित राज्यसत्ता लिनका निम्ति मिहिन वा ललित काव्यले धेरै भूमिका खेल्दैन । जति खेल्न सक्छ सनकी शासकलाई बन्दुकको फिरादले । कवि परिवर्तन र सम्मिलनका विषयमा एकदमै स्पष्ट छन् ।

उनले जातीय समान धारणा र अन्तरघुलनलाई पनि कविताको एउटा पक्षका रूपमा सामेल गरेकै छन् । ‘ओ बाहुनी !’ जस्ता कविताले फरक–फरक सभ्यता वा जीवनशैलीलाई सम्मिलनमा लगेर उन्नत मान्छे निर्माणको कुरा गरेको छ भने ‘माछाको सिकार’ जस्ता कविताले संसदीय राजनीतिले जनतामाथि गरेको हिंसा र हत्याको प्रतीकात्मक पक्ष उजगार गरिदिएको छ ।

बन्दुकधारी राजाको अस्तु बागमतीले बगाइसक्यो
मलाई स्वीकार छैन फेरि अर्को दासता
मलाई मन्जुर छैन फेरि अर्को अधिनायक
अब म
कुनै कवच नपढीकन
आफ्नै मुक्तिको कविता लेख्छु

आखिर मुक्त हुने आधार पनि यही हो । नेपाली समाज र विश्व समुदायले स्वतन्त्रताको एउटा अवसर पाइसकेको छ ।

अवसरलाई सही ढङ्गले राज्यको समस्या समाधानका निम्ति प्रयोगमा ल्याउने हो भने मात्र हामी एउटा ढुङ्गोमा पुग्न सक्छौँ ।

नक्कली स्वतन्त्रता भित्रको दमन, उत्पीडन सह्य छैन । वर्गीय पक्षधरताले मात्र समाधानको उपाय निकाल्न सक्छ ।

मूलतः सदियौँदेखि दबिएर रहेको वर्गले जबसम्म राज्य छ भन्ने अनुभूति गर्न सक्दैन तबसम्म लुटको स्वर्ग चलिरहन्छ ।

हो त्यही तथाकथित शासकहरूको हातबाट सत्ता खोसेर जनसामान्यका खातिर प्रयोग हुने जनकल्याणकारी राज्य सत्तामा मात्र हजारौँ फूल फुल्न सक्छ त्यसैका लागि हो कविता ‘जुलुसको आयोजना अर्थात् नयाँ कार्यदिशा ।

 

Tags: #साहित्यकवितासुरज राना
तेजविलास

तेजविलास

Related Posts

सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण
FEATURE BREAKING

सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

by तेजविलास
साउन १७, २०८३
0

इटहरी : सुनसरीको इनरुवा निवासी सीमा अभियन्ता तथा साहित्यकार गोपाल कोइराला ‘त्यागी’को जीवन, संघर्ष र योगदानमा आधारित पुस्तक ‘एउटा अथक...

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान
कला साहित्य

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

by तेजविलास
साउन १०, २०८३
0

इटहरी : प्रसिद्ध मूर्तिकार विक्रमश्रीले सार्वजनिक स्थलमा निर्माण गरिने अधिकांश सालिकहरूमा कृत्रिम रङ प्रयोग नगर्नुको कारण त्यसको दीर्घकालीन सौन्दर्य, ऐतिहासिक...

मदन पुरस्कारका लागि १० कृति छनौट, उपन्यासको वर्चस्व

मदन पुरस्कारका लागि १० कृति छनौट, उपन्यासको वर्चस्व

साउन ४, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती आज

असार २९, २०८३
काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

असार १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

सात दिनपछि सुनसरी सामान्य लयमा, बजार खुले, यातायात नियमित

साउन १७, २०८३
एकै दिनमा किन पछाडि हट्यो सुनसरी प्रशासन ? भोलिबाट औषधी पसल बाहेक अरु पसल खोल्न नपाईने

सुनसरीका चार वटा पालिकामा सोमबार बिहानसम्म निषेधाज्ञा

साउन १७, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापामा मानव–हात्ती द्वन्द्व : १६ वर्षमा ८० जनाको मृत्यु, २८ हात्ती मृत भेटिए

साउन १७, २०८३
सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

सुनसरीका गोपाल कोइराला ‘त्यागी’माथि लेखिएको ‘एउटा अथक योद्धा’ लोकार्पण

साउन १७, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    632 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.