इटहरी : यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार केशवकुमार विष्टले संगठन निर्माण गर्नेबेला आफू–आफू गरेपनि विकास निर्माणका बेला एकतावद्व हुनका लागि गठबन्धन गरिएको बताएका छन् ।
नेपाली कांग्रेस इटहरी २० ले शनिबार आयोजना गरेको भेलामा सम्बोधन गर्दै नेकपा एसका सुनसरी सह–इन्चार्ज समेत रहेका विष्टले चुनावका बेला मात्रै नभई विकास गर्नेबेला पनि एकतावद्व हुनका निम्ति आफूहले गठबन्धन गरेको बताएका हुन् ।
हामीले चुनावका बेला मात्रै एकतावद्व गरेको होइन, विकास गर्नेबेला एकतावद्व हुनका लागि गठबन्धन गरिएको हो, विष्टले भने, ‘अहिले समयको आवश्यकता भएर हामीले गठबन्धन गरेका हौँ, गठबन्धनले जितेको अवस्थामा इटहरीको विकास सम्भव छ ।’
उनले इटहरीमा यसअघि नेकपा एमालेको सत्ता रहँदा कुशल नेतृत्व नभएकै कारण विकासले गति नलिएको आरोप लगाए ।
हिजोको दिनमा नेकपा एमालेबाट निर्वाचित भएका मेयर उपमेयरबीच नै आन्तरिक द्वन्द भएको उदृत गर्दै उनले भने, ‘एउटै पार्टीबाट निर्वाचित भएपनि मेयर उपमेयरबीच ठूलो द्वन्द भयो, हामी अहिले फरक पार्टीका भएपनि एकता कस्तो हुन्छ भन्ने उदाहरण देखाइरहेका छौँ ।’
उनले विकास निर्माणका काममा एकतावद्व भएर हातेमालो गर्ने दाबी गरे । इटहरीलाई परिवर्तन गर्नका निम्ति उनले आफ्नो, योग्यता, दक्षता र क्षमताले भ्याएसम्म लगानी गर्ने बताए ।
उनले भने, ‘इटहरीका समस्याका बारेमा भोलि हामीले घोषणापत्रमा सार्वजनिक गर्दैछौँ, ठूलो लक्ष्यका साथ हामी निर्वाचनमा होमिएका छौँ ।’ उनले गठबन्धनले विजयी हासिल गरेको अवस्थामा आम इटहरीबासीले अनुभूत गर्ने किसिमका काम गर्ने प्रतिवद्वता व्यक्त गरे ।














Discussion about this post