इटहरी : इटहरी उपमहानगरपालिकाले उपभोक्ताको हितलाई मध्यनजर गरेर मासु पसलहरुलाई ब्यवस्थित गर्ने भएको छ ।
उपमहानगरले मासु पसलहरुलाई ब्यवस्थित र गुणस्तरीय बनाउन फ्रेस हाउस संचालन कार्यविधि तयार गरिरहेको छ । उपमेयर लक्ष्मी गौतमले कार्यविधिको ड्राफट तयार भइरहेको बताइन् । पटक–पटक अनुगमन गरेर मासु पसललाई ब्यवस्थित गर्न निर्देशन दिदाँ पनि सुधार नभएपछि कार्यविधि नै बनाएर ब्यवस्थित गरिन लागेको उनले जानकारी दिइन् ।
कार्यविधिका लागि सुझाव लिन मासु ब्यवसायीहरुसँग छलफल गरिएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर मासु ब्यवसायीहरुसँग छलफल गरिएको हो ।
छलफलमा ब्यवसायीले जनचेतनाको अभावले फ्रिजमा राखेको मासु उपभोक्ताले किन्न नमान्ने गरेको गुनासो गरे । कस्तो मासु स्वस्थ्य र उचित हुन्छ भन्ने बिषयमा चेतनामूलक जानकारी लेखिएको फ्लेक्स १५ दिन भित्रमा इटहरीका सबै मासु पसलहरुमा उपमहानगरले राख्ने भएको छ । ब्यवसायीहरुले मापदण्ड पालना नगर्ने मासु पसलहरुलाई कडाई गर्न समेत माग गरेका छन् ।
इटहरीमा मापदण्ड विपरीत खुल्ला रुपमा मासु वेचविखन गर्न नपाउने गरि कार्यविधि बनाएर ब्यवस्थित गर्न लागिएको उपमहानगरले जनाएको छ ।














Discussion about this post