इटहरी : दिनप्रतिदिन कोरोना महामारीको दोस्रो लहर नेपालका विभिन्न सहरमा आक्रान्त रुपमा फैलन थालेको छ ।
अझ धेरै त भारतीय नाकासँग सीमाना जोडिएका जिल्लाहरुमा धेरैजसो कोरोना महामारी फैलिरहेको छ । यसैबीच प्रदेश १ मा भारतसँग नाका जोडिएको सीमानाका जिल्लासँगै अन्य सहरकेन्द्रित गरी ट्राफिक प्रहरीले ‘मास्क खोइ’ अभियान सञ्चालन गरेको छ ।
प्रदेश १ का जोगबनी, भण्टाबारी, पशुपतिनगर, भद्रपुर, काकडभिट्टा र रंगेली नाकासँग नजिक रहेका वस्ती मात्रै नभइ अन्य क्षेत्रमा पनि प्रहरीले ‘मास्क खोइ’ अभियान सञ्चालन गरेको जनाएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्माका अनुसार मंगलबारबाट यहाँका १४ वटै जिल्लाका मुख्य स्थानहरुमा ‘मास्क खोइ ?’ अभियान सञ्चालन गरिएको हो ।
‘मास्कको प्रयोगले केही हदसम्म भएपनि कोभिडबाट बच्न सकिन्छ,’ शर्माले टाकुरासँग भने, ‘त्यसकारण पनि हामीले मास्कको प्रयोग नगरी सवारी चलाइरहेका मानिसहरुलाई रोकेर ‘मास्क खोइ ?’ भन्दै मास्क लगाउन सचेत गराएका छौँ ।’
नाका खुल्ला भएका कारण समेत जोखिम बढ्न सक्ने बताउँदै उनले सावधानीका लागि ‘मास्क खोइ ?’ अभियान चलाएको बताए । ट्राफिक प्रहरीले मास्क नलगाई खुलेआम हिँडडुल वा सवारी साधन चलाएको पाइएमा कारवाहीको दायरामा ल्याइने शर्माले बताए ।

‘प्रदेश १ का १४ वटै जिल्लामा हामीले विशेष सावधानी अपनाएर चेकिङमा पनि कडाइ गरेका छौँ,’ एसपी शर्माले अगाडि थपे, ‘सवारीचालक, सार्वजनिक यातायातमा सवार यात्रुलाई विशेष लक्षित गरेर यो अभियान सञ्चालन गरिएको हो ।’
उक्त अभियानको पहिलो दिन प्रदेश १ का ९२ वटा ट्राफिक युनिटबाट १६ हजार ९५५ थान माक्स वितरण गरिएको बताउँदै उनले नागरिक समाज, पेसाकर्मी, सामाजिक अभियन्ता, अधिकारकर्मी, उद्योगी व्यवसायी लगायतको साथ लिएर अभियान सञ्चालन गरिएको बताए ।
परिस्थिति जटिल बन्दै गएकाले सबैलाई मास्क अनिवार्य छ भन्ने सन्देश दिनका लागि अभियान जारी राखिने उनको भनाइ छ । आगामी दिनमा मास्कको प्रयोग नगरी हिड्ने यात्रु तथा सवारी चालकलाई कारबाही गरिने समेत शर्माले बताए ।
पछिल्लो समय कोरोनाले आक्रान्त बनाएको उदृत गर्दै एसपी शर्माले सार्वजनिकस्थलमा बढ्दो भीड तथा विभिन्न समारोहका कारण पनि जोखिम बढेको बताए ।














Discussion about this post