इटहरी : निषेधाज्ञाको समयमा इटहरीबाट चोरी भएको स्कुटर नवलपरासी जिल्लामा भेटिएको छ । गत २० गते सोमबार इटहरी ६ स्थित इटहरी मेडिकल अगाडिबाट साँझ प्र १–०२–०४५ प २४०२ नम्बरको स्कुटर चोरी भएको थियो ।
मेडिकलमा औषधी खरिद गर्न पुगेका स्कुटर धनी चिरन निरौलाले भुलवंश चाबी स्कुटरमै छाडेको अवस्थामा चोरले स्कुटर स्टार्ट गरी फरार भएको थियो । निषेधाज्ञाको समयमा नै स्कुटर चोरी भएपछि इटहरी प्रहरीलाई दबाब परेको थियो ।
स्कुटरको हुलिया देशभरका जिल्ला प्रहरी कार्यालय मार्फत पठाइएपछि नवलपरासीको एक भित्री सडकमा बेवारिसे अवस्थामा स्कुटर भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीले इटहरीबाट चोरी भएको स्कुटर सुरक्षित फेला परेको जानकारी दिए ।
स्कुटर चोरी गर्ने व्यक्ति समेत पक्राउ परेको जानकारी दिँदै केसीले इटहरीबाट प्रहरीको टोली थप अनुसन्धानको लागि नवलपरासी पुगेको बताए ।












Discussion about this post