धरान : धरानमा आइतबारदेखि विद्यालयहरू खोल्ने निर्णय भएको छ ।
आज (शुक्रबार) मेयर तिलक राईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले स्वास्थ्य प्रोटोकलको पूर्ण रुपमा पालना गर्दै भौतिक रूपमा विद्यालयहरू खोल्ने निर्णय गरेको हो ।
गएको भदौ ३१ गते बसेको कार्यपालिकाको बैठकले धरान क्षेत्रका विद्यालयहरु भौतिक रुपमा तिहारपछि मात्र सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, पछिल्लो समय धरानमा कोरोना संक्रमण घट्दै गएको तथ्यलाई मध्यनजर गर्दै विभिन्न आज बसेको कार्यपालिकाको बैठकले असोज १० गतेदेखि भौतिक उपस्थितिमै विद्यालय खुलाउने निर्णय भएको बरिष्ठ प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडाले जानकारी दिए ।
उनका अनुसार उपमहानगरपालिकामा वडाका वडाध्यक्षहरु र अभिभावकहरुले समेत विद्यालय खुलाउन अनुरोध गरेपछि उक्त निर्णय गरिएको हो ।
साथै, संस्थागत विद्यालयहरुबाट लिइने शुल्कलाई अभिभावकहरुले दबाबको रुपमा झेल्नुपर्ने बाध्यतालाई ह्दयङ्गम गरी यसअघि झै अभिभावक र विद्यालयको सहमति र समन्वयमा शुल्क लिने व्यवस्था गर्ने निर्णय गरेको छ ।
यस्तै, दशै तिहारको समयमा लामो अवधिसम्म विद्यालयहरू बन्द नगर्न समेत अनुरोध गर्ने निर्णय भएको छ भने सम्बन्धित वडाहरुबाट र धरान उपमहानगरपालिकाले अनुगमन गर्ने समेत निर्णय भएको छ ।












Discussion about this post