इटहरी : नेपाली कांग्रेसको सुनसरी क्षेत्र नं. ३ मा निर्वाचन अधिकृतको राजीनामा माग गर्दै उमेद्वारहरू आक्रोशित बनेपछि अनिश्चितकालका लागि मतदान स्थगित गरिएको छ ।
बिहीबार साँझ एक सूचना जारी गर्दै निर्वाचन अधिकृत देवनारायण यादवले प्रतिनिधिहरू अनुपस्थित भएकाले निर्वाचन गर्न कठिनाई भएको भन्दै अर्को सूचना प्रकाशित नभएसम्म मतदान कार्य स्थगित गरिएको जानकारी गराएका हुन् ।
मंगलबार नै सुनसरीका अन्य तीनवटा क्षेत्रमा निर्वाचन भइसक्दा क्षेत्र ३ मा भने बिहीबारसम्म निर्वाचन नभएपछि यादवको राजीनामा माग गर्दै कार्यकर्ताहरूले नाराबाजी गरेका थिए ।
पार्टी उपसभापति समेत रहेका विजयकुमार गच्छदारको निर्वाचन क्षेत्र रहेको यहाँ सहमति गरेर नेतृत्व चयन गरिने भन्दै अहिलेसम्म निर्वाचन नहुँदा विवाद उत्पन्न भएको हो । गच्छदारले सहमतिमा पदाधिकारी तथा महाधिवेशन छानिनुपर्ने भन्दै निर्वाचनको मिति सार्न निर्देशन दिदैँ आएका थिए ।
निर्वाचन नभएपछि निर्वाचन अधिकृत असक्षम रहेको भन्दै राजीनामा माग गरिएको थियो । राजीनामा माग गरिएपछि यादवले बिहीबार एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म अनिश्चितकालका लागि निर्वाचन स्थगित गरिएको हो ।
गच्छदारकै क्षेत्रमा हरेक चुनाव स्थगितको कारणबारे कार्यकर्ताले प्रश्न समेत राखेका छन् ।
यो पनि – गच्छदारको क्षेत्रमा निर्वाचन अधिकृतको राजीनामा माग, सुरक्षाकर्मी बढाइयो, मतदाता छैनन्














Discussion about this post