इटहरी : प्रदेश १ मा मन्त्रीमण्डल बढाएर १३ पु¥याइएको छ । आइतबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले थप आठजना नयाँ मन्त्री बनाएसँगै मन्त्रालय संख्या १३ पुगेको हो । राईको मन्त्रीमण्डलमा १३ मन्त्री र एक राज्यमन्त्री छन् ।
गत कात्तिक १६ मा गठित मौजुदा मन्त्रिपरिषद् नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गरिएको हो ।
केही समयअघि बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालय फुटाउने निर्णय गरेर मन्त्रीमण्डल जम्बो बनाइएको हो । आइतबार शपथ लिएका मन्त्रीहरूमध्ये नेपाली कांग्रेसबाट तीन, नेकपा एकीकृत समाजवादी पार्टीबाट तीन र माओवादी केन्द्रबाट दुई जना छन् ।
नेपाली कांग्रेसबाट मोरङका शेखरचन्द्र थापा, झापाका ओमप्रकाश सरावगी र ताप्लेजुङका प्रतापप्रकाश हाङमाङ नियुक्त भएका छन् ।
थापाले वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, सरावगीले उद्योग, श्रम तथा रोजगार मन्त्रालय र हाङमाङले भूमि तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यस्तै, नेकपा एकीकृत समाजवादीबाट मोरङका उपेन्द्र घिमिरे, खोटाङका राजन राई र इलामकी खिनु लङ्वा लिम्बू नियुक्त भएका छन् । घिमिरेले यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय, राईले सामाजिक विकास मन्त्री र लिम्बू पर्यटन तथा संस्कृति मन्त्री बनेकी छन् । हालै रहेका सामाजिक विकास मन्त्री जयराम यादव भने स्वास्थ्यमन्त्री बनेका छन् ।

यता, नेकपा माओवादी केन्द्रबाट खोटाङका रामकुमार राई र झापाका झलकसिंह दर्लामी मगर मन्त्रीमा नियुक्त भएका छन् । राईले खानेपानी सिचाईँ, तथा ऊर्जा मन्त्रालय र दर्लामीलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराएका थिए ।
कांग्रेसमा कोइराला पक्ष असन्तुष्ट
मन्त्रीमण्डलमा कांग्रेसको कोइराला पक्ष भने असन्तुष्ट देखिएको छ । कांग्रेसबाट शपथ लिएका तीन जनामध्ये थापा र हाङमाङ शेरबहादुर देउवा निकटका हुन् भने सरावगी कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट हुन् ।
मन्त्रिपरिषद् विस्तारमा कांग्रेसका शेखर कोइराला समूहलाई वाइपास गरिएको भन्दै कोइराला पक्ष असन्तुष्ट बनेको हो । शपथ ग्रहण कार्यक्रममा प्रदेशका आन्तरिक मामिला मन्त्री समेत रहेका कोइराला निकटका केदार कार्की मात्रै उपस्थित भएनन् ।
यसअघि मन्त्री नियुक्त भएका जनता समाजवादी पार्टीका नेता जयराम यादव स्वास्थ्यमन्त्री, कांग्रेसका हिमाल कार्की सडक, पूर्वाधार तथा सहरी विकास मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रीमा माओबादी केन्द्रका इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की छन् ।
सामाजिक विकास राज्यमन्त्रीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फे नियुक्त भएका छन् ।



















Discussion about this post