धरान : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफू किराँत प्रदेशको पक्षमा रहेको बताएका छन् ।
धरानमा शनिबार साकेला सिलीको समापन कार्यक्रमका प्रमुख अतिथि रहेका राईले आफू किराँत प्रदेशकै पक्षमा रहेको बताएका हुन् ।
‘म किराँत प्रदेशको पक्षमा छु, तपाईँहरू पार्टीलाई दबाब दिनुहोस्,’ राईले कार्यक्रममा सम्बोधन गर्दै भने, ‘जुन–जुन पार्टी, जुन–जुन नेता पहिचानको पक्षमा छैनन्, त्यसलाई तपाईँहरूले दण्डित गर्नुपर्यो ।’
उनले पहिचानविरोधी जनप्रतिनिधिलाई मत नहाल्न समेत अभिव्यक्ति दिए ।
पहिचानको आधारमा प्रदेश १ को नाम किराँत प्रदेश हुनुपर्ने जिकिर गर्दै मुख्यमन्त्री राईले भने, ‘पहिचानविरोधी जनप्रतिनिधिहरूलाई तपाईँ चिन्नुहोस्, उनीहरूलाई भोट नहाल्नुहोस् ।’
कार्यक्रममा सामाजिक विकास मन्त्री राजन राईले पनि प्रदेश १ को नाम किराँत प्रदेश हुनुपर्ने बताए ।

सभामुख प्रदीपकुमार भण्डारीले आफू पनि किराँती संस्कार र संस्कृतिसँग जानकार भएको बताए । धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ) ले प्रदेशको नाम चाँडै प्रदेशसभाबाट टुङ्गो लाग्नुपर्ने बताए ।
किराँत राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा धरान १७ स्थित साकेला सांस्कृतिक पार्कमा शनिबार आयोजित जिल्लाका वडा स्तरीय प्रतियोगितात्मक साकेला सिलीको समापन समारोहमा किराँती मौलिक सांस्कृतिक पहिरनमा युवायुवतीहरूको बाक्लो उपस्थिति थियो ।
भिडियो : लक्ष्मण थापा ।












Discussion about this post