इटहरी : इटहरीमा घरभित्र पसेको चितुवा नियन्त्रणमा लिइएको छ ।
इटहरी उपमहानगरपालिका ६ स्थित जुट विकास नजिकै एकता टोलमा आज (बिहान) चितुवा भेटिएको थियो ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार बिहान ३ः३० बजे चितुवा देखिएको थियो ।
‘करीब ७ घण्टाको अवधिमा घरभित्र ग्राउण्डमा रहेको चितुवालाई नियन्त्रणमा लिएका छौँ,’ डीएसपी खड्काले टाकुरासँग भने, ‘कोशीटप्पु बन्यजन्तु आरक्ष, जिल्ला बन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहकार्यमा नियन्त्रणमा लिएका छौँ ।’
खड्काका अनुसार पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, प्रदेश नं. १ र कोशी टप्पु बन्यजन्तु आरक्षको प्राविधिक टोली इटहरी आएको थियो । चितुवालाई बेहोस बनाउन डार्ट हानिएको थियो ।
इटहरी ६ एकता टोलका नेरु चौधरीको घरको ग्राउण्डमा आज बिहान चितुवा पसेको थियो ।
नियन्त्रणमा लिइएपछि डिभिजन वन कार्यालय लगिएको छ । कार्यालयका अनुसार दुई वर्षको भाले चितुवा ३५ केजीको रहेको छ ।
त्यहाँ उपचार गरिएपछि वन कार्यालयलले कोशी टप्पु बन्यजन्तु आरक्षको सहयोगमा चितुवालाई चितवन राष्ट्रिय निकुन्ज पठाइने जनाइएको छ ।
इटहरीको उत्तरी क्षेत्रमा चारकोशे जङ्गल रहेको कारण जङ्गल खोला हुँदै चितुवा बजार क्षेत्रभित्र पसेको अनुमान गरिएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला बन कार्यालय सुनसरी, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, प्रदेश नं. १ र कोशी टप्पु बन्यजन्तु आरक्षको प्राविधिक टोलीले सुरक्षित रूपमा नियन्त्रण लिइएको हो ।
भिडियो












Discussion about this post