इटहरी : नेपाली कांग्रेसले आफ्ना बागी उमेदवारहरुलाई कात्तिक ४ गतेसम्मको समय दिएर उमेदवारी फिर्ताको सार्वजनिक घोषणा गरे कारबाही फुकुवा गर्ने बताएको छ ।
सोमबार कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले एक विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारलाई कात्तिक ४ गतेसम्म उम्मेदवारी फिर्ता लिए कारबाही नहुने बताएका हुन् ।
“यही २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभारप्रदेश सभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरु बीच सहमति भई बनेका नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार एवं गठबन्धन दल बीच सहमती भई बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवारी दिई तोकिएको मिति र समय (२०७९ असोज २६ गते विहान १० बजेदेखि अपरान्ह १ बजे) भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम नेपाली कांग्रेसको सदस्यता समेत नरहने गरी ५ वर्षका लागि निष्काशन गरिएको विषयमा पुनः ध्यानाकर्षण गराउँदै,” विज्ञप्तिमा भनिएको छ ।
उम्मेदवारी निष्क्रिय गराएमा विद्रोही उम्मेदवारलाई कारबाही फुकुवा गर्ने बताइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धतासहित २०७९ कात्र्तिक ४ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।”











Discussion about this post