विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले पुनः असंवैधानिक कदमबाट विश्वासको मत प्राप्त गरेको आरोप लगाउँदै नेकपा एमाले सर्वोच्च अदालत जाने भएको छ ।
प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबरजस्ती विश्वासको मत पाएको भन्दै सर्वोच्चअदालत जान लागेको एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले जानकारी दिए ।
पार्टीसँगको सल्लाह र प्रदेश इञ्चार्जको निर्देशनपछि संसदीय दलले सर्वोच्चमा रिट दायर गर्ने निर्णय गरेको कार्कीले बताए । एमाले निकट कानुन व्यवसायीहरू ले काठमाडौंमा त्यसको तयारी गरेको जानकारी दिँदै उनले बुधबार रिट हाल्न काठमाडौं जाने बताए ।
मंगलबार विराटनगरमा प्रेस चौतारी नेपाल कोसी प्रदेश कमिटीको प्रथम साधारणसभामा बोल्दै कार्कीले एमालेसँग अदालत जानुबाहेक अर्को विकल्प नभएको बताए ।
प्रदेशसभाकी उपसभामुखले सभा छलेर हिँडेपछि र अध्यक्ष मण्डलमा रहेका एमाले र राप्रपाका जेष्ठ सदस्य बैठकमा नआएपछि सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक अध्यक्ष मण्डलमा रहेका कांग्रेस सांसद इस्राइल मन्सुरीले सञ्चालन गरेका थिए ।
मन्सुरीले विश्वासको मत लिने बैठक सञ्चालन गरेर मतदानको प्रक्रिया अन्तिम चरणमा पुगेको बेला अध्यक्षको आसनमा अध्यक्ष मण्डलमा रहेकी गीता तिम्सिनालाई बोलाएर आफूले मतदान गरेका थिए । मन्सुरीसमेतको मतको आधारमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त गरि प्रदेशसभामा विश्वसको मत पाएका थिए भने विपक्षमा ३० मत परेको थियो ।
सभाध्यक्षको मतदानबाट विश्वासको मत पाएको भन्दै एमाले अदालत जान लागेको हो । यसअघि सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरमा मुख्यमन्त्री बनेका उनै थापाविरुद्व एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो । उक्त रिटमाथि सुनुवाई गर्दै अदालतले सरकार असंवैधानिक रहेको जनाउँदै खारेज गरेको थियो ।
पछि सभामुखलाई राजीनामा गराएर पुनः थापा नै गत साउन १६ गते मुख्यमन्त्री भएका थिए । थापा मुख्यमन्त्रीमा नियुक्त भएसँगै सोमबार विश्वासको मत लिने कार्यक्रम थियो ।














Discussion about this post