काठमाडौं : कवि गगन योक्पाङ्देनको कवितासंग्रह ‘केवाफुङ्को गीत’ बुधबार राजधानीमा सार्वजनिक भएको छ।
शिल्पी थिएटरमा भएको कार्यक्रममा कविद्वय श्रवण मुकारुङ, विमला तुम्खेवा, समीक्षकद्वय अशोक थापा, गुरुङ सुशान्त र माया पब्लिकेशनका अध्यक्ष विनयभूषण दत्तले पुस्तक विमोचन गरे।
पुस्तकमाथि बोल्दै मुकारुङले स्थानीयताको प्रयोगमा कवि योक्पाङ्देन अब्बल रहेको चर्चा गरे।
‘पहिलो संग्रहमै कमजोरी निकै कम भएकाले कविमाथि शंका गर्ने ठाउँ छैन,’ उनले भने, ‘विशेषगरी स्थानीय विषय, विम्बको प्रयोगले नै यी खास नेपाली कविता बनेका छन्।’
राज्यले वर्षौंदेखि थिचोमिचोमा पारिएका समुदायबाट आफ्ना मुद्दा चर्को रूपमा आएपनि त्यसलाई स्वीकार्न सक्नुपर्ने उनको भनाइ थियो।
तर उनले ती सबै पहिचानसँग जोडिएका भए, नभएको मूल्यांकन गर्न समीक्षकहरुलाई आग्रह गरे।
कवि तुम्खेवाले ‘केवाफुङ्को गीत’ भित्रका कविताले अर्गानिक स्वाद दिएको बताइन्। ‘हरेक कविताको अन्त्यमा पन्चिङ लाइन भेटिन्छ,’ उनले भनिन्, ‘कविले आफ्नो ग्रामीण समाजको परिवेशलाई जस्ताको तस्तै कवितामा ल्याएका छन्।’
समीक्षक थापाले मुलुकमा पटकपटक सामाजिक, राजनीतिक आन्दोलन भए पनि पहिचानको आन्दोलनको यात्रा सधैं धूमिल भइरहेकामा चिन्ता गरे।
‘कवि, लेखकले लेखिरहेकै छन्, तर कहाँ के पुगेन र अझै पनि यही मुद्दामा अल्झिइरहनुपरेको छ?’ उनले प्रश्न गरे, ‘अब सांस्कृतिक र पहिचानको मुद्दालाई फरक कोणबाट अघि बढाउन बहस सुरु गर्नुपर्ने हो कि?’
अर्का वक्ता गुरुङले कवितामा सांस्कृतिक चिन्तन, परदेशीएका पीडादेखि पर्यावरणीय चिन्तनसम्म आएको बताए।
‘संग्रहमा शब्दको फुर्मासी छैन, कविता कविताकै लागि लेखिएका छन्,’ उनले भने।
राज्यले कुनै जाति समुदायलाई केन्द्रमा राखेर भाषा, राष्ट्रिय पहिचान निर्माण गर्न खोज्दा अन्य समुदायमा आक्रोश, असन्तुष्टि उब्जिएको र त्यो लेखनमा पनि आउने गरेको उनको भनाइ थियो।
कार्यक्रमलाई सहजीकरण गरेका पत्रकार फणीन्द्र संगमले मोरङको मिक्लाजुङ बस्दै आएका योक्पाङ्देनका कवितामा स्थानीय रङ, विम्ब र त्यहीँको माटोको सुवास पाइने बताए।
कवि योक्पाङ्देनले आफ्ना भावना, संवेग र आक्रोश कवितामै प्रकट गरेको बताए।
‘सिंहदरबार र बालुवाटारमा बस्ने, गाडीमा राष्ट्रिय झन्डा हल्लाउँदै हिँड्नेहरूले नै देशको बदनाम गरेका छन्,’ उनले भने, ‘गाउँमा खेतीकिसानी गर्ने, भारी बोक्नेले त त्यसरी सोच्न पनि सक्दैन।’
कार्यक्रममा रंगकर्मी घिमिरे युवराजले संग्रहभित्रका दुई कविता वाचन गरेका थिए। पुस्तकलाई माया पब्लिकेसनले प्रकाशनमा ल्याएको हो।














Discussion about this post