विराटनगर : युवा रोजगार अभिवृद्धि तथा प्रवद्र्धनका लागि निजी क्षेत्र र सरोकारवाला निकायबीच अन्तरक्रिया सम्पन्न भएको छ ।
विराटनगर महानगरपालिकाको नमुना रोजगार सेवा केन्द्रको आयोजनामा भएको अन्तरक्रियामा सहभागीहरुले रोजगारी सिर्जनामा ध्यान दिनुपर्नेमा जोड दिए ।
विकास निर्माणका कार्यलाई तीव्र रूपमा अगाडि बढाएमा थुप्रै रोजगारी सिर्जना हुने उनीहरूको भनाइ थियो । महानगरपालिकाले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताबीच पुलको काम गर्ने गरेको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले बताए ।
वडा नम्बर १९ का अध्यक्षसमेत रहेका संयोजक घिमिरेले महानगरले रोजगार मेलामार्फत रोजगारदाता र रोजगारीको खोजीमा रहेका करिब ४ हजारभन्दा बढी सहभागी भएको बताए । उनले महानगरको रोजगार शाखाले पनि समन्वय गर्ने गरेको बताए ।
कार्यक्रममा आर्थिक महाशाखा प्रमुख दीपक पौडेलले रोजगारीको खोजीमा नमुना रोजगार सेवा केन्द्रमा आउने युवाहरूलाई रोजगारदातासित जोड्ने गरेको सुनाए ।
कार्यक्रममा रोजगार सहायक सरस्वती साहले नमुना रोजगार सेवा केन्द्रले गरिरहेका कार्यप्रगति प्रस्तुत गरिन् । उनले सय दिने रोजगारीअन्तर्गत यस वर्ष ७६ जनालाई १० वटा वडामा विभिन्न योजनाहरूमा सहभागी गराएको जानकारी दिइन् ।
थप ५१ जनालाई बारिष्ठा, गार्मेन्ट र विद्युतीय सवारी साधन मर्मत तालिम दिएको जानकारी दिइन् । तालिम लिएका मध्ये ५० प्रतिशतभन्दा बढी स्वरोजगार भइसकेको साहले बताइन् ।
आइएलओका प्रतिनिधि सौरभराम जोशी र एक्सन फर डेभलप्मेन्टका महेन्द्र प्रसाईंले रोजगारी अभिवृद्धिका लागि स्थानीय सरकारसित सहकार्य गर्न तयार रहेको बताए । उद्योग संगठन मोरङका महानिर्देशक चूडामणि भट्टराईले नयाँ रोजगारी सिर्जनाका लागि सबै मिलेर परिणामुखी काम गर्नुपर्नेमा जोड दिए ।
छलफल र अन्तरक्रियाले मात्रै नहुने भन्दै उनले योजनाबद्ध रूपमा काम गर्नु आवश्यक रहेको औंल्याए । भट्टराईले रोजगारी अभिवृद्धिका लागि निजी क्षेत्र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
पर्यटन व्यवसायी पूण्य भट्टराईले रोजगार अभिवृद्धिका लागि महानगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश सूचना केन्द्रका ललितकुमार यादव, स्वीस कन्ट्रयाक (एनभीक्यूएस) गीता लिम्बू, मोरङ उद्योग व्यापार संघकी सदस्य बन्दना जैन, नेपाल उद्योग परिसंघ कोशी प्रदेश युवा समितिका संयोजक मुनन रिजाल, विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालका एचआर उदयप्रसाद साह, मोरङ सहकारी अस्पतालका एचआर धरणी खनाल, कम्प्युटर एसोसिएसनका अजित चापागाईंलगायतले रोजगारी सिर्जनाका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।














Discussion about this post