इटहरी : सन् २०१६ देखि नेपालमा हुँदै आएको मोडल हन्ट ‘फेस अफ नेपाल’ यस वर्षबाट नयाँ स्वरूपमा आयोजना हुने भएको छ।
प्रतियोगिताको आयोजक परिवर्तन भएसँगै यसको स्वरूपमा समेत परिवर्तन गरिएको हो । यस वर्षबाट मोडल हन्ट ‘फेस अफ नेपाल’ एमएस प्रोडक्सन नेपालले आयोजना गर्ने भएको हो ।
यसअघि काठमाडौँ केन्द्रित हुँदै आएको यो प्रतियोगिता यस वर्षबाट भने देशव्यापी बनाउने तयारी गरिएको छ । इटहरीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमका विषयमा जानकारी दिइयो ।
आयोजक संस्था एमएस प्रोडक्सन नेपालकी प्रबन्ध निर्देशक मेनुका माझीका अनुसार यो सौन्दर्य प्रतियोगितामा महिला तथा पुरुष दुवैले सहभागिता जनाउन पाउनेछन् । यसका लागि वैशाख १७ गतेबाट नै आवेदन खुल्ला गरिसकिएको छ ।
प्रबन्ध निर्देशक माझीका अनुसार प्रतियोगितामा १८ देखि माथिका पुरुष तथा महिला सहभागी हुन सक्नेछन् । यस्तै, उचाइमा ५ फिट ८ इञ्च अग्ला पुरुष तथा ५ फिट ५ इञ्च अग्ला महिलाले यो प्रतियोगितामा भाग लिन सक्नेछन् ।
आवेदन फारम खल्ती एप तथा अनलाइनबाट दिन सकिनेछ । प्रतियोगिताको अफिसियल फेसबुक पेजमा पोस्ट गरिएको लिंकमा क्लिक गरेर त्यहाँ मागिएको आवश्यक पर्ने विवरण भर्नुपर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सातै प्रदेशमा अडिसन गर्ने तयारी आयोजकको छ । पहिलो अडिसन यही असार ११ गते इटहरीको होटेल उत्सवमा गरिने बताइएको छ । प्रतियोगिताको ग्राण्ड फिनाले भने काठमाडौँमा गरिनेछ ।
छनौट प्रक्रिया अगाडि बढेपछि सहभागिताका लागि देशका ख्यातिप्राप्त प्रशिक्षकहरूद्वारा १५ दिनको तालिम दिइनेछ। सहभागी हुनेहरूमध्ये आगामी जुलाईमा हुने फिनालेमा जजको मूल्याङ्कन र भोटिङबाट तीन जना विजेता घोषणा हुनेछन्।
फिनाले पश्चात् यसका विजेताहरूले आगामी नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुँदै आएको मोडल हन्ट ‘एसिया मोडल फेस्टिभल’ मा सहभागी जनाउन पाउनेछन् ।
उक्त प्रतियोगितामा एसियाभरका २७ भन्दा बढी देशले सहभागी जनाउने बताइएको छ।












Discussion about this post