विराटनगर : साहित्यकार नानुमैया दाहालको ‘खुल्ला आकाशमुनि’ मुक्तक सङ्ग्रहको विमोचन गरिएको छ ।
नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो मुक्तक सङ्ग्रहको विमोचन गरिएको हो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, अग्रज गीतकार रमेश पौडेल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, संस्थापक अध्यक्ष बलराम पोखरेल, आयोजक संस्थाका अध्यक्ष बाबुराम पोखरेललगायतले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए ।
विमोचित कृतिमाथि समालोचक हरि कट्टेलले समीक्षा गरेका थिए । उनले मुक्तक सङ्ग्रहले राजनैतिक, सामाजिक, आर्थिक, पारिवारिक विषयवस्तुलाई सशक्त रूपमा उठाएको बताए । उनले संग्रह पठनीय र संग्रहनीय भएको चर्चा गरे ।
सो अवसरमा साहित्यकार तीला लेकाली, विनोद विवश, रोहिणी रसिक, मञ्जु घिमिरे दाहाल, स्वीकृति रेग्मी, लक्ष्मी रायमाझी, मञ्जुश्री गिरी, प्रिन्स प्रमोदकुमार ढकाल, मदन भण्डारीलगायतले विमोचन भएको संग्रहभित्रका मुक्तक वाचन गरेका थिए ।
मुक्तक प्रतिष्ठान कोशी प्रदेशले प्रकाशित गरेको सङ्ग्रहमा एक सय ५२ वटा मुक्तक रहेका छन् ।
कार्यक्रममा बोल्ने वक्ताहरूले पछिल्लो समय मुक्तक लेखनतर्फ स्रष्टाहरूको आक्रमण बढ्दै गएको बताए । छोटो समयमा लेख्न र पढ्न सकिने भएकाले मुक्तकको लोकप्रियता बढ्दै गएको उनीहरूको भनाइ थियो ।
प्रतिष्ठानले दाहालको ‘खुल्ला आकाशमुनि’सहित ११ वटा संग्रह प्रकाशित गरिसकेको संस्थाका अध्यक्ष बाबुराम पोखरेलले जानकारी दिए ।
प्रतिष्ठानले मुक्तक लेख्न चाहने स्रष्टाहरुलाई प्रशिक्षण, अन्तरक्रियालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको सचिव मदन भण्डारीले बताए ।













Discussion about this post