तरहरा : दोस्रो तरहरा अर्गानिक १० किलोमिटर दौडमा २ वर्षीय बालकदेखि ८१ वर्षीया वृद्वासम्म दौडिएका छन् ।
शनिबार तरहरामा सुरू भएको १० किलोमिटर दौडमा नेपालका विभिन्न जिल्लासहित देशबाहिरबाट पनि धावकहरू दौडिएका हुन् ।
तरहरा चोकबाट सुरू भएको दौड प्रतियोगिता ब्रम्हपुर, भवानीपुर, अमाहा, कराइबन हुँदै इटहरी १ को वडा कार्यालय नजिकैबाट आँपगाछी निस्किएर पुनः तरहरा चोक नै पुगेपछि १० किलोमिटर दौड पूरा भएको थियो ।
प्रतियोगिता विभिन्न आठ वटा विधामा निर्धारण गरिएको थियो ।
१२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू ३ किलोमिटर दौडमा सहभागी भए । उनीहरूमध्ये छात्रतर्फ प्राविधिक कारणले गर्दा पुरस्कार वितरण गरिएन । छात्रातर्फ भने रेश्मा दर्जी प्रथम भइन् । उनले १३ मिनेट ५३ सेकेन्डमा दौड पूरा गरिन् ।
यसैगरी करिना राईले १४ मिनेट ३४ सेकेन्डमा दौड पूरा गर्दै द्धितीय भइन् भने स्वेता चौधरीले १४ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान प्राप्त गरिन् । उनीहरू नगद पाँच हजार, तीन हजार र दुईहजारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरियो ।
यसैगरी १६ वर्षभन्दा कम उमेर समूहका बालबालिकाहरू १० किलोमिटर दौडमा सहभागी भए । जसमा छात्रतर्फ पवन राईले ३८ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै प्रथम भए । यसैगरी श्यामतुम्मा राईले ३८ मिनेट ५४ सेकन्ड र रुपेश माझीले ३९ मिनेट ९ सेकेन्डमा दौड पूरा गर्दै क्रमशः द्धितीय, तृतीय भए । यसैगरी छात्रातर्फ जुही राईले ४४ मिनेट ४२ सेकेन्डमा १० किलोमिटर पूरा गरिन् । यसैगरी पूजा महतराले ४५ मिनेट ३६ सेकेन्ड र विनिता राईले ४६ मिनेट ४४ सेकेन्डमा दौड पूरा गरिन् ।
छात्र र छात्रा दुवैतर्फ क्रमशः १० हजार, सात हजार र पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो ।
१६ देखि ४० वर्ष उमेर समूहकाहरूमध्ये १० किलोमिटर दौड पूरा भयो । जसमा पुरुषतर्फ केन्या मुलुकका जुलियस मुरियुकीले ३१ मिनेट ६ सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरे । यसैगरी गजेन्द्र राईले ३२ मिनेट ७ सेकन्डमा द्धितीय स्थान हासिल गरे भने सरोज लिम्बूले ३२ मिनेट ९ सेकेन्डमा दौड पूरा गर्दै तृतीय स्थान हासिल गरे ।
यसैगरी महिलातर्फ भने पूर्णलक्ष्मीले ३८ मिनेट १० सेकेन्ड, सुनकला राईले ४७ मिनेट २० सेकेन्ड र दीक्षा राईले ५० मिनेट २० सेकेन्डमा दौड पूरा गर्दै क्रमशः प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरे । पुरुष र महिला दुवैतर्फ नगद ३० हजार, २० हजार र १० हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरे ।
यसैगरी भेट्रान्सतर्फ ४० देखि ६० वर्ष उमेर समूहकाहरूमध्ये पुरुषतर्फ विजय कुमार अभिमानले ३८ मिनेट २ सेकेन्ड, अभिनारायण अधिकारीले ३८ मिनेट ५ सेकेन्ड र लटमान अधिकारीले ४० मिनेट २५ सेकेन्डमा दौड पूरा गर्दै क्रमशः प्रथम, द्धितीय र तृतीय भए ।
महिलातर्फ जमुना लिम्बूले ५० मिनेट ३१ सेकेन्ड, कुशुम लिम्बूले ५६ मिनेट ५८ सेकेन्ड र कौशिला तामाङले १ घण्टा ४ मिनेटमा दौड पूरा गर्दै क्रमशः प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरे । पुरुष र महिला दुवैतर्फ नगद १० हजार, सात हजार र पाँच हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरे ।
यस्तै, मिड भेट्रान्सतर्फ ६० वर्ष भन्दा माथि पुरुषतर्फ जनक खड्का १ घण्टा ४ मिनेट, केसी गुरागाईँ १ घण्टा १३ मिनेट र बसन्त न्यौपानेले १ घण्टा १४ मिनेटमा दौड पूरा गरे । उनीहरूलाई तीन हजार, दुई हजार र एक हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरियो ।
महिलातर्फ सरस्वती राई १ घण्टा ३८ मिनेट प्रथम भइन् । महिलातर्फ भने उनी मात्रै दौडमा सहभागी भइन् । उनलाई तीन हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरियो ।
यसैगरी स्पाइनर इन्जुरीमा पुरुषतर्फ विष्णुकान्त चौधरीले १८ मिनेट २० सेकेन्ड, नवीराज राईले २१ मिनेट ३० सेकेन्ड, निराजन बिकले २४ मिनेटमा एक सय मिटर दौड पूरा गर्दै क्रमशः प्रथम, द्धितीय र तृतीय स्थान हासिल गरे ।
महिलातर्फ भने रोशनी लामाले २५ मिनेट १ सेकेन्ड, चन्द्रिका सरदारले २६ मिनेट ४ सेकेन्ड र प्रतिमा दाहालले २७ मिनेट ८ सेकेन्डमा एक सय मिटर दौड पूरा गरे । उनीहरूलाई ह्वील चियरमार्फत प्रतियोगितामा सहभागी गराइएको थियो ।
प्रथम, द्धितीय र तृतीयले क्रमशः पाँच हजार, तीन हजार र दुई हजारसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको तरहरा रनका अध्यक्ष शिवु रुम्दाली राईले जानकारी दिए ।
शारीरिक अशक्त भएका विशाल राई र एक खुट्टाले नै दौड पूरा गरेका हेमकुमार विष्टलाई नगदसहित सम्मानसमेत गरियो ।
प्रतियोगितामा दुई हजार दुई सय भन्दा बढी धावक, धाविकाहरू सहभागी भएको राईले बताए । विजेताहरूलाई इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठलगायतले पुरस्कार प्रदान गरे ।
तरहरा रनका सचिव जीवन गिरीका अनुसार गृहिणी तथा पारिवारिक रमाइलो दौडमा तीन किलोमिटर र विदेशमा रहेकाहरूले १० किलोमिटर दौडमा सहभागी भएका थिए ।
क्षमतावान खेलाडीहरूको पहिचान गरी उनीहरूलाई संरक्षण गर्न र समाजलाई दौडसँग जोड्न उक्त प्रतियोगिता आयोजना गरिएको उनले बताए ।
रनका संयोजक मीनकुमार खवासका अनुसार सबैभन्दा कम उमेर भएका २ वर्षीय क्रियान्स खत्री र सबैभन्दा बढी उमेर समूह ८१ वर्षीया देवीमाया गिरी पनि दौडमा सहभागी भएका थिए । उनीहरूलाईसमेत पुरस्कृत गरियो ।
यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शव गृहमा कार्यरत कर्मचारी रामप्रसाद उराउ र गोल्ड मेडलिष्ट इन्द्रकला नेम्वाङ र तरहरा रानका धावक विक्रम खनाललाई सम्मान गरिएको थियो ।
जसमध्ये खनालले ७ प्रदेश, ७ म्याराथन ७ दिनमा पूरा गरेका थिए ।
Discussion about this post