इटहरी : इटहरी २० तरहरामा घरको छतमा पानी हाल्ने क्रममा लडेर एक पुरुषको मृत्यु भएको छ ।
आइतबार (आज) बिहान करिब ७ः३० बजेतिर पुष्पलाल टोलस्थित निर्माणाधीन घरको छतमा पानी हाल्ने क्रममा लडेर नेपाल प्रहरीका बहालवाला प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार निर्माणाधीन दुई तले घरमा पानी लगाउने क्रममा चिप्लिएर लड्दा इटहरी २० तरहरा घर भई, धनकुटामा कार्यरत असई प्रेम कटवालको मृत्यु भएको हो ।
अन्दाजी ४५ वर्षीय कटवाल घरको छद्दीबाट पानी हाल्ने क्रममा लडेका थिए ।
‘छतबाट लडेको भन्नेबित्तिकै हामी घटनास्थल गएका थियौँ,’ एक प्रहरीले भने, ‘उपचारका लागि लगिएपनि बचाउन सकिएन ।’
लडेर उनी क्रंकिट र पानीको नालामा परेका थिए । घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रहरीले तत्कालै अस्पताल लगेपनि उपचारको क्रममा चिकित्सकले मृत घोषित गरेका हुन् ।
एक श्रीमती र दुई छोरी रहेका कटवालको निधनले प्रहरी जगतमै अपुरणीय क्षति भएको जानकारहरू बताउँछन् ।
यद्यपि, घटनाबारे थप अनुसन्धान भने जारी रहेको सुनसरी प्रहरीको भनाइ छ ।
Discussion about this post