धरान : धरानमा श्रमदानको समयमा बालिकालाई यौन दुर्व्यवहार गरेको घटनामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान १७ का ४९ वर्षीय खजिन्द्र राई रहेका छन् । गत वैशाख १७ गते धरान १६ स्थित बहुभाषिक पाठशालामा श्रमदान चलिरहेको बेला राईले एक बालिकालाई यौन हिंसा गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी धरान–१५ की पवित्रा मगरको घरबाट ४ लाख ५० हजार नगद, दुई तोला सुन र १७ तोला चाँदी चोरी गरेको अभियोगमा काभ्रेपलाञ्चोकका सोनाम लामालाई पक्राउ गरिएको हो।
लामाले धरानका दुईवटा घरमा चोरी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। उनलाई असार १४ गते काठमाडौँ दरबारमार्ग क्षेत्रबाट पक्राउ गरिएको हो।
यस्तै, धरान–१० स्थित सैनिक चौकमा असार १२ गते समीर राईमाथि खुकुरी र फलामको रड प्रहार गरी गम्भीर घाइते बनाउने घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मोटरसाइकलमा आएका व्यक्तिहरूले हेलमेट, खुकुरी र रड प्रयोग गरी आक्रमण गरेका थिए।
घटनामा प्रयोग भएको मोटरसाइकल चालक साइमन चौधरीलाई असार १७ गते विराटनगरबाट पक्राउ गरिएको थियो।
उनको बयानको आधारमा पासाङ शेर्पालाई असार १८ गते र प्रशान्त प्रधानलाई असार १९ गते धरानबाट पक्राउ गरिएको हो। घटनामा संलग्न अजय खड्का भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुले शान्ति सुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको प्रश्न उठेपनि प्रहरीले निरन्तर निगरानी गरिरहेको बताए।
घटनामा प्रयोग भएका मोटरसाइकल, खुकुरी, र फलामको रड प्रहरीले बरामद गरेको छ। पाँचै जना अभियुक्तमाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जवेगुले बताए ।













Discussion about this post