मोरङ : मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित सरस्वती टोलबाट जरायोको सिङसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही ठाउँका ३१ वर्षीय निरज गुरुङ र २४ वर्षीय विजय राई रहेका छन्।
मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार आइतबार साँझ विशेष सूचनाका आधारमा गुरुङको घरमा छापा हानिएको थियो। छापाका क्रममा ३ वटा जरायोको टाउकोसहित ६ वटा सिङ (३ जोर) बरामद गरिएको हो।
इलाका प्रहरी कार्यालय पथरीका असई गुलजारी यादव नेतृत्वको टोलीले साँझ करिब ५ः५० बजे हानेको थियो।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीका डीएसपी तुलसीराम अर्याल नेतृत्वको टोली सक्रिय रहेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकालाई सब डिभिजन वन कार्यालय पथरीको जिम्मा लगाएको छ। हालसम्म सिङ कहाँबाट ल्याइएको हो भन्ने विषयमा प्रमाणित विवरण प्राप्त भइसकेको छैन।
सब डिभिजन वन कार्यालय पथरीका सहायक वन अधिकृत कृष्णकुमार चौहानले दुवै जना पक्राउ परेकाविरुद्ध वन्यजन्तु संरक्षण ऐन अन्तर्गत अवैध आखेटोपहार सम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार आवश्यक अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिनेछ र त्यसपछि फरेन्सिक परीक्षण तथा आपूर्ति शृङ्खलाको खोजी समेत अघि बढाइनेछ।
जरायो नेपालको संरक्षित वन्यजन्तु हो । जसको शिकार तथा अंग संकलनमा कडा कानुनी प्रतिबन्ध छ।
अवैध वन्यजन्तु व्यापार अन्तर्राष्ट्रिय माफियासम्म पनि जोडिन सक्ने भएकाले यस्ता घटनामा विस्तृत अनुसन्धान गरिने जनाइएको छ।













Discussion about this post