इटहरी : लागूऔषध ओसार–पसार र बिक्रीमा संलग्न रहेको आरोपमा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकासँग प्रहरीले ब्राउनसुगर, गाँजा र विभिन्न प्रकारका निषेधित ट्याब्लेट तथा क्याप्सुल बरामद गरेको छ।
झापाको मेचीनगर–६ मा २३ वर्षीय संयोग चौधरी, २३ वर्षीया सुकमाया राई र ३१ वर्षीय दिलीप लिम्बूको साथबाट प्रहरीले २.५३० ग्राम ब्राउन सुगर बरामद गरेको छ। उनीहरूलाई नियमित गस्तीका क्रममा चेकजाँच गर्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी मेचीनगर–७ मा ५६ वर्षीय टीकाराम कोइरालाको साथबाट १७५.३१० ग्राम गाँजा बरामद गरिएको छ।
त्यसैगरी, भद्रपुर–५ का ३० वर्षीय सन्तोष श्रेष्ठ र उनकी २९ वर्षीया पत्नी लक्ष्मी राजवंशीको साथबाट २.४५० ग्राम ब्राउनसुगर बरामद गरिएको हो।
सुनसरीको इनरुवा–४ बाट इटहरी–५ बस्ने ५३ वर्षीय विशाल माझी र २५ वर्षीय सचिन लिम्बूलाई पक्राउ गरिएको छ। उनीहरूको साथबाट २.०३८ ग्राम ब्राउन सुगर बरामद भएको छ।
धरान–५ मा २४ वर्षीय आशिष राईलाई नियन्त्रणमा लिँदा ६३८ वटा ट्याब्लेट र क्याप्सुल (स्पास्मोप्रोक्सिभोन, डिजेपाम, नाइट्रोभेट) भेटिएको प्रहरीले जनाएको छ।
यस्तै, बराहक्षेत्र–११ मा सोही स्थानका ५० वर्षीय मुस्ताक मियाँ र बराहक्षेत्र ६ का ४८ वर्षीय बलराम यादवलाई ७८ किलोग्राम गाँजासहित पक्राउ गरिएको छ।
सबै पक्राउ परेका व्यक्तिमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापा र सुनसरीले जनाएको छ। बरामद सामग्री प्रमाणसहित जिल्ला अदालतमा पेश गरिने बताइएको छ।



















Discussion about this post