इटहरी : झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगी क्षेत्रमा पहिलोपटक दुर्लभ वन्यजन्तु एशियन पाम सिभेट रेकर्ड (टाडी निरबिरालो) गरिएको छ। वन्यजन्तु संरक्षणकर्मी शंकर सी लुइँटेलले टाडी निरबिरालो कैद गरेका हुन् ।
यो क्षेत्रमा पहिलोपटक देखिएको लुइँटेलले बताए ।
एशियन पाम सिभेट वैज्ञानिक नाम हो । स्तनधारी प्राणी रहेको यो प्रजाति नेपालमा विरलै मात्र देखिने भएकाले यसको अभिलेखीकरणलाई महत्वपूर्ण उपलब्धि मानिएको छ।
‘म यही ठाउँमा जन्मिएर पनि अहिलेसम्म देखेको थिइँन,’ लुइँटेलले भने, ‘सबै मानिसले चासो दिएमा वन्यजन्तु संरक्षण गर्न लागि सम्भव छ ।’
खासगरी जंगली बिरूवा, फलफूल, कीराहरू यसको मुख्य आहार मानिन्छ। प्रायः रातको समयमा सक्रिय रहने यो प्रजाति मानिसको प्रत्यक्ष सम्पर्कमा कमै मात्र आउने भएकाले अध्ययन र निगरानीमा कठिनाइ हुने विशेषज्ञहरू बताउँछन्।
संरक्षणविद्हरूका अनुसार एशियन पाम सिभेट वन्यजन्तुहरूको जैविक विविधता संरक्षणमा महत्वपूर्ण मानिन्छ। यसले बीउ विस्तार तथा वातावरणीय सन्तुलनमा सहयोग पु–याउने गर्दछ।
तर बासस्थान अतिक्रमण, वन फँडानी र मानवजन्य दबाबका कारण यसको अस्तित्वमा जोखिम बढ्दो क्रममा रहेको छ।
संवेदनशील प्रजाति भएकाले यसबारे थप विस्तृत विवरण सार्वजनिक नगरिएको लुइँटेलले बताए ।
टाडी निरबिरालो प्रजाति देखिनु यहाँको जैविक विविधताको दृष्टिले उत्साहजनक भए पनि दीर्घकालीन संरक्षण रणनीति बनाउनुपर्ने आवश्यकतामा जोड दिइएको छ।
विशेषज्ञहरूले स्थानीय तह, सरोकारवाला निकाय र समुदायबीच सहकार्य गरेर यस्ता दुर्लभ वन्यजन्तुको आवास सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।














Discussion about this post