इटहरी : स्टोन स्किपिङ च्याम्पियनसिप (पानी सुल्के प्रतियोगिता)मा राहुल लिम्बूले लगातार तेस्रो पटक जित निकालेका छन् ।
सुनसरीको वराहक्षेत्रस्थित अमाह सिमसारमा आयोजित च्याम्पियनसिपमा २७ पटक ढुङ्गा उफार्दै लिम्बू तेस्रो संस्करणको विजेता बनेका हुन् । विजेता बनेसँगै उनले नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।
पहिलो र दोस्रो संस्करणको विजेता बनेका उनले सोमबार आयोजित प्रतियोगितामा एक सय १७ प्रतिस्पर्धीलाई उछिनेका थिए ।
२५ पटक स्किप गरेका (पानीमा ढुङ्गा उफारेका) भोजपुरका मनिष राई दोस्रो बने । उनले नगद १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा वराहक्षेत्रका अधिकलाल चौधरी १९ स्किप गर्दै तेस्रो बने । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ का सहसंयोजक भविषकुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले पर्यटनको विकासका लागि नौलो खेल पानी सुल्के प्रतियोगिताले प्रचारप्रसार र प्रवर्द्धन गरेको बताए ।
जैविक विविधताको सरक्षण, स्थानीय पर्यटनको प्रवर्द्धनको नारासहित आयोजना गरिएको प्रतियोगिता चतरा हाइकिङ समूहको आयोजनामा बर्सेनि हुँदै आएको चतरा हाइकिङका संस्थापक भीषण राईले बताए ।
प्रतियोगिताले स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार र प्रवर्द्धन गर्ने साथै नेपालको मौलिक खेललाई देशैभरि स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको चतरा हाइकिङका संस्थापक नवराज विष्टले जानकारी दिए ।
यो खेलको अमेरिका, आयरल्यान्ड, स्कटल्यान्डलगायत देशमा नदी, ताल र जाम पानीमा प्रत्येक वर्ष प्रतियोगिता हुन्छ ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन् २०१३ मा यो खेलमा रेकर्ड राखेका छन् । नेपालमा विगत दुई वर्षदेखि सुनसरीको वराहक्षेत्रमा प्रतियोगिता आयोजना भइरहेको छ ।














Discussion about this post