विराटनगर : जिल्ला कारागार कार्यालय मोरङमा पछिल्लो एक सातामा दुई जना कैदीबन्दीको मृत्यु भएको छ ।
कारागार प्रशासनका अनुसार दुवै कैदीबन्दीमा शरीर सुन्निने र सास फेर्न गाह्रो हुने समान लक्षण देखिएको थियो।
बिहीबार बिहान मृत्यु भएका मुस्कान दनुवार (२०) मोरङको उर्लाबारी–१ का हुन्। जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई १२ वर्षको सजाय भोगिरहेका उनलाई स्वास्थ्य समस्या भएपछि बुधबार कोशी अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता, डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।
यस्तै, गत शुक्रबार राति मृत्यु भएका सुन्दरहरैँचा–७ का जितप्रसाद सापकोटा (३२) लागूऔषध मुद्दाका बन्दी थिए। असोज २७ गते कोशी अस्पतालमा भर्ना गरिएको उनलाई थप उपचारका लागि कात्तिक ६ गते थप उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्याइएपनि कात्तिक ८ गते राति उनको मृत्यु भएको थियो।
मोरङ कारागारमा हाल एक हजार एक सय भन्दा बढी कैदीबन्दी छन्।
कारागारभित्र नियमित स्वास्थ्य परीक्षण हुन नसक्दा लक्षण देखिएपछि मात्र अस्पताल पुर्याउने प्रचलन रहेको छ। यसरी ढिलाइ हुँदा धेरैजसो समस्याहरू गम्भीर हुन पुग्ने चिकित्सकहरूको भनाइ छ।
मानवअधिकारकर्मीहरूले कारागार प्रशासनलाई नियमित स्वास्थ्य जाँच अनिवार्य गर्न माग गरेका छन्।














Discussion about this post