विराटनगर : मोरङ प्रहरीले विराटनगरका दुई क्यासिनोमा आइतबार राति छापा हानेर २० जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले राति करिब ११ बजे होटल बिगमा सञ्चालित च्याम्पियन जोन क्यासिनो र होटल रत्नामा रहेको गोल्डेन क्यासिनोमा छापा मारेको हो।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये १७ जनामाथि जुवा ऐन अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरिएको छ भने ३ जना क्यासिनो कर्मचारीलाई थप अनुसन्धानपछि कानुनी प्रक्रियामा अगाडि बढाइनेछ।
पक्राउ पर्नेमा पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका पूर्व निर्देशक तेजराज गिरी समेत रहेका छन्। साथै गोल्डेन क्यासिनोका महाप्रबन्धक लोकेन्द्रबहादुर बस्नेत र च्याम्पियन जोन क्यासिनोका व्यवस्थापक रामकृष्ण गौतम पनि पक्राउ परेका छन्।
अन्य पक्राउ पर्नेमा रोशन गिरी, अनिसराज लामा, आदेश बिक, घनश्याम शर्मा, सन्तोष बस्नेत, मो. जाकिर हुसैन, विवेककुमार मण्डल, कृष्ण कुर्मी, रुपेश दाहाल, सुरज राय, प्रमोद घिमिरे, पवन गोस्वामी, साजन साह, हरि भट्टराई र सुरेन्द्रबहादुर चन्द रहेका छन्। हरि भट्टराई होटल बिगका सञ्चालकसमेत हुन्।
विराटनगरमा लामो समयदेखि क्यासिनोमा नेपाली नागरिकको अवैध प्रवेश भइरहे पनि प्रभावकारी निगरानी नहुँदा जुवाजन्य गतिविधि खुलेआम सञ्चालन हुँदै आएको प्रहरीले जनाएको छ।













Discussion about this post