इटहरी : निर्वाचनको मिति नजिकिँदै जाँदा सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना र भ्रामक प्रचार नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले साइबर निगरानीलाई तीव्र बनाएको छ।
यही क्रममा सामाजिक सञ्जालमा भ्रामक सामग्री पोस्ट गरेको आरोपमा एक व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार नियन्त्रणमा लिइएका व्यक्ति इनरुवा निवासी विप्लव घोष हुन्। उनी एमाले सुनसरीका युवा नेता रहेको खुलेको छ।
उनीमार्फत सामाजिक सञ्जालमा निर्वाचनसँग सम्बन्धित भ्रामक भिडियो तथा सामग्री प्रसारण भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ।
उक्त सामग्रीले मतदातालाई भ्रममा पार्न सक्ने र निर्वाचनको निष्पक्षतामाथि असर पार्ने जोखिम देखिएकाले तत्काल अनुसन्धान अघि बढाइएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हाल सामाजिक सञ्जालका पेज, प्रोफाइल तथा समूहहरूलाई विशेष निगरानीमा राखिएको छ।
निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले गलत सूचना, झुटा समाचार वा अफवाह फैलाउने कार्यलाई साइबर अपराधको दायरामा राखेर कारबाही गरिने प्रहरीको भनाइ छ।
घटनासँग सम्बन्धित डिजिटल प्रमाण संकलन, पोस्टको उद्देश्य, प्रभाव र पछाडि रहेका सम्भावित नेटवर्कबारे थप अनुसन्धान भइरहेको छ।
प्रहरी प्रशासनले आम नागरिक, राजनीतिक दलका कार्यकर्ता तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई तथ्य पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्न आग्रह गरेको छ।













Discussion about this post