इटहरी : इटहरी–धरान सडकखण्ड अन्तर्गत इटहरी–२० स्थित तरहरा (होम्स) क्षेत्रमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएपछि स्थानीयवासीले ‘एकाहा पुराण’ आयोजना गरेका छन्।
स्थानीयका अनुसार सो क्षेत्रमा लगातार दुर्घटना भइरहेका कारण पुराण लगाइएको हो। सुनसरी प्रहरीको तथ्यांकअनुसार पछिल्ला तीन वर्षमा मात्र यस क्षेत्रमा एक दर्जनभन्दा बढी दुर्घटना भएका छन् भने चार जनाले ज्यान गुमाएका छन्।
दुर्घटनाको संख्या अस्वाभाविक रूपमा बढ्दै गएपछि स्थानीयले धार्मिक कार्यक्रमलाई माध्यम बनाएर सडक सुरक्षा र ट्राफिक नियम पालना सम्बन्धी सचेतना फैलाउने प्रयास गरेका हुन्।
धनपुरी एकता समाजका अध्यक्ष राजन कटवालका अनुसार कार्यक्रममार्फत संकलित आर्थिक सहयोग सडक क्षेत्रमा सिसी क्यामेरा जडान, सडक बत्ती व्यवस्थापन तथा जनचेतनामूलक गतिविधिमा प्रयोग गरिनेछ।
सडकमा बढ्दो दुर्घटना गम्भीर विषय बनेको बताउँदै उनले नागरिक स्तरबाटै सचेतना अभियान सञ्चालन गरिएको जानकारी दिए।
कार्यक्रममा कलश यात्रा समेत निकालिएको थियो। जसमा विभिन्न संघसंस्था र स्थानीय जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरी श्रद्धाञ्जली समेत अर्पण गरिएको थियो।















Discussion about this post