इटहरी : सुनसरीमा बर्डफ्लू संक्रमण पुष्टि भएपछि २३ वटा पोल्ट्री फर्मका लेयर्स र ब्रोइलर कुखुरा नष्ट गरिएको छ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको परीक्षणबाट संक्रमण पुष्टि भएपछि कुखुरा नष्ट गरिएको हो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा. मनोज महतोका अनुसार संक्रमणका कारण ३० करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।
करिब एक महिनादेखि फैलिएको संक्रमणले कुखुरापालक किसानहरू ठूलो आर्थिक मारमा परेका छन्।
पशु सेवा विज्ञ केन्द्रका अनुसार हालसम्म करिब १ लाख ४५ हजार कुखुरा नष्ट गरिएको छ। त्यसैगरी लेयर्स २ लाख १७ हजार, ब्रोइलर माउ १६ हजार ८५३, ब्रोइलर ४४ हजार ५५० र करिब २ लाख २६ हजार ५३० अण्डा नष्ट गरिएको जनाइएको छ।
संक्रमण फैलिएका क्षेत्रका कुखुरा, हाँस, टर्की, चल्ला, अण्डा, दाना, कार्टुन र क्रेटसमेत नष्ट गरिएको छ। संक्रमित फर्महरू सिल गरिँदै आएको छ।
संक्रमणपछि सुनसरीमा कुखुरा र अण्डा उत्पादन प्रभावित भएको छ। केही वर्षयता अण्डा र मासु उत्पादनमा आत्मनिर्भर बन्दै गएको सुनसरी अहिले पुनः बाहिरी आपूर्तिमा निर्भर हुने अवस्थामा पुगेको छ।














Discussion about this post