विराटनगर : पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने दुई स्रष्टालाई नगदसहित सम्मान गरेको छ ।
प्रतिष्ठानले बुधबार विराटनगरमा आयोजित विशेष समारोहबीच ‘कवि टेकनाथ–शिवाकुमारी अधिकारी स्मृति साहित्य संस्कृति पुरस्कार’ समर्पण गर्दै महाकाव्यकार सोमराज अभय र अग्रज कवि प्रल्हाद पोखरेललाई जनही १५ हजार रुपैयाँ, दोसल्ला र सम्मानपत्र प्रदान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा. गोपाल भण्डारी, प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, पुरस्कारका संस्थापक डिल्लीराम अधिकारी, भवानी अधिकारी तथा गोकुल अधिकारीले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।
संस्थापक अधिकारी परिवारले आफ्ना मातापिताको स्मृतिमा ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी वार्षिक रूपमा साहित्य, भाषा र संस्कृतिका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने स्रष्टालाई सम्मान गर्दै आएको जनाएको छ । यस्तो निजी पहलले साहित्यिक क्षेत्रको संस्थागत विकास र नयाँ पुस्तालाई प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. भण्डारीले पण्डित टेकनाथ अधिकारीलाई नेपाली भाषा र संस्कृतिका प्रकाण्ड विद्वानका रूपमा स्मरण गर्दै उनको योगदान अनुपम रहेको बताए । उनले यस्तो व्यक्तित्वको नाममा स्थापित पुरस्कारले योग्य स्रष्टालाई सम्मान गर्दा यसको गरिमा अझ उचो भएको उल्लेख गरे ।
साहित्यकार प्रा.डा. हरिहर भण्डारीले सम्मानित स्रष्टा सोमराज अभयको योगदानमाथि प्रकाश पार्दै उनको काव्ययात्रा नेपाली महाकाव्य परम्परामा महत्वपूर्ण रहेको बताए । त्यस्तै कवि भेषराज पोखरेलले प्रल्हाद पोखरेलको सिर्जनात्मक यात्रालाई स्मरण गर्दै प्रतिष्ठानले सही व्यक्तिको छनोट गरेको धारणा राखे ।
कार्यक्रममा अग्रज साहित्यकार खेम नेपाली, बलराम पोखरेल, गंगा सुवेदी, कवि तथा पत्रकार मीनकुमार नवोदित, कवि निर्मला कोइरालालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।















Discussion about this post