मोरङ : इलाका प्रहरी कार्यालय लेटाङले आफ्नो कार्यक्षेत्रभित्र सवारी साधनको स्वरूप परिवर्तन (मोडिफाई) गरी अनावश्यक हो–हल्ला मच्चाउने तथा ध्वनि प्रदूषण गर्ने सात वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार ती मोटरसाइकलमा साइलेन्सर परिवर्तन गरी ठूलो आवाज निकाल्ने, आगोको झिल्का निकाल्ने तथा अन्य प्राविधिक संरचना परिवर्तन गरिएको पाइएको थियो।
नियन्त्रणमा लिइएका सवारी साधनका चालकहरूलाई अभिभावकसहित कार्यालयमा उपस्थित गराई सचेतनामूलक कक्षा सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
साथै, मोटरसाइकललाई पुनः पुरानै अवस्थामा फर्काउन लगाई आगामी दिनमा यस्ता गतिविधि नगर्ने प्रतिबद्धतासहित अभिभावकको जिम्मा लगाई सम्झाइ–बुझाइ गरी छाडिएको हो।
प्रहरीका अनुसार यस्ता गतिविधिले ध्वनि प्रदूषण बढाउनुका साथै बिरामी, ज्येष्ठ नागरिक, बालबालिका, विद्यार्थी तथा अस्पताल र विद्यालयजस्ता संवेदनशील क्षेत्रमा प्रत्यक्ष असर पार्ने र सडक दुर्घटनाको जोखिम समेत बढाउने गर्दछ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ बमोजिम सवारी साधन मोडिफाई गरी सञ्चालन गर्नु कानुनविपरीत कार्य भएकाले यस्ता गतिविधि नगर्न र देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ।













Discussion about this post