विराटनगर : कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार, सार्वजनिक खरिद र सामाजिक कार्यक्रमसँग सम्बन्धित तीन महत्त्वपूर्ण निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठकले ग्रामीण सडक सञ्जाल सुधार आयोजना (अतिरिक्त लगानी) का कारण प्रभावित घरटहरा तथा अन्य भौतिक सम्पत्तिको क्षतिपूर्ति निर्धारण र वितरणसम्बन्धी ‘भौतिक सम्पत्तिको क्षतिपूर्ति निर्धारण तथा वितरण निर्देशिका, २०८३’ स्वीकृत गरेको छ।
त्यसैगरी प्रदेश सरकारले ‘सार्वजनिक खरिद नियमावली–२०८३’ पनि स्वीकृत गरेको छ। नयाँ नियमावली लागू भएपछि प्रदेशअन्तर्गत हुने सार्वजनिक खरिद प्रक्रिया थप व्यवस्थित, पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
मन्त्रिपरिषद्ले कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित ‘म अघि बढ्छु’ कार्यक्रम कार्यान्वयन कार्यविधि–२०८३ समेत स्वीकृत गरेको छ। यस कार्यविधिअनुसार कार्यक्रम कार्यान्वयनका लागि आवश्यक कानुनी र प्रक्रियागत आधार तयार भएको सरकारको भनाइ छ।
प्रदेश सरकारले यी निर्णयले विकास आयोजना कार्यान्वयन, क्षतिपूर्ति वितरण, सार्वजनिक खरिद व्यवस्थापन तथा लक्षित कार्यक्रम सञ्चालनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।




















Discussion about this post