विराटनगर : विराटनगर महानगरपालिका–१८ झटियाही बुधनगरस्थित एक घरमा प्रहरीले छापा मारेर अवैध हतियार र लागूऔषध बरामद गरेको छ। घटनामा संलग्न आरोपमा ५९ वर्षीय लालकिशोर यादव पक्राउ परेका छन्।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा बुधबार बिहान यादवको घरमा खानतलासी गरेको थियो।
सो क्रममा घरभित्र लुकाइराखिएको अवस्थामा एक थान कटुवा पेस्तोल, ३ ग्राम ७ मिलिग्राम खैरोहेरोइन र ८ ग्राम ४८ मिलिग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार बरामद हतियार र लागूऔषधका आधारमा यादवलाई तत्काल नियन्त्रणमा लिइएको हो। उनलाई हाल इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको छ।
प्रहरीले पक्राउ परेका यादवविरुद्ध हातहतियार तथा खरखजाना ऐन र लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएको छ।
बरामद हतियार र लागूऔषधको स्रोत तथा यससँग अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा पनि अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ।

















Discussion about this post