नेपालमा बाघको संख्या वृद्धि भएको छ। १ पुस २०८२ देखि गरिएको गणनाको बुधबार (आज) बाघ दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो। सोअनुसार बाघको संख्या ३३५ बाट बढेर ४२९ पुगेको हो। पछिल्लो चार वर्षमा ७४ बाघ थपिएको गणनाले देखिएको हो।
जसअन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १४५, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ११२, बाँके राष्ट्रिय निकुञ्जमा ५१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा ५०, पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ७१ वटा बाघ पुगेका छन् ।
यसअघि, २०७८ मा गरिएको गणनामा सबभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जमा १२८ बटा, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ बटा, पर्सामा ४१, शुल्लाफाँटामा ३६ र बाँकेमा २५ वटा बाघ रहेका थिए।
यसपटकको गणनामा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १७, बाँके राष्ट्रिय निकुञ्जमा २६, पर्सा राष्ट्रिय निकुञ्जमा ३०, शुक्लाफाँटामा १४ वटा बाघ बढेका छन्। तर, बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या १३ वटाले घटेको देखिएको छ।
२०७८ मा गरिएको गणनामा देशभर बाघको संख्या ३५५ रहेको थियो।
२०७४ को गणनामा नेपालमा २३५ बाघ रहेको थियो।
विश्वमा पाँच हजार बढी बाघ
बाघ नेपाललगायत भारत, चीन, बङ्गलादेश, भुटान, कम्बोडिया, लाओस, इन्डोनेसिया, मलेसिया, म्यान्मा, रसिया, थाइल्यान्ड र भियतनाम गरी एसियाका १३ देशमा मात्र पाइन्छ । विश्वमा सन् २०१० मा करिब तीन हजार २०० को सङ्ख्यामा रहेको बाघको सङ्ख्या सन् २०२५ को तथ्याङ्कअनुसार बढेर पाँच हजार ३५७ पुगेको छ ।
त्यसमध्ये सबैभन्दा बढी भारतमा तीन हजार १६७, रुसमा ७५०, इन्डोनेसियामा ४००, नेपालमा ३५५, थाइल्यान्डमा १८९, भुटानमा १५१, मलेसियामा १५०, बङ्गलादेशमा १४६, म्यान्मामा २२, चीनमा २०, भियतनाममा पाँच र लाओसमा दुईवटा बाघ रहेका छन् ।
मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा बुद्धिसागर पौडेलका अनुसार नेपालमा बाघको सङ्ख्या सन् २०१० मा १२१, सन् २०१४ मा १९८ र २०१८ मा २३५ रहेको थियो ।
सन् २०१० मा रसियामा भएको बाघ शिखर सम्मेलनबाट यसको सङ्ख्या सन् २०२२ सम्म दोब्बर बनाउने लक्ष्यअनुरुप नेपालले बाघको संरक्षण र सङ्ख्या वृद्धि गरेर विश्वमै उदाहरणीय काम गरेको छ ।
नेपालको तराई भूपरिधिका पाँचवटा राष्ट्रिय निकुञ्जहरू (पर्सा, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा) र वरिपरिको मध्यवर्ती तथा राष्ट्रिय वनक्षेत्र एवं जैविक मार्गमा मात्र बाघ पाइन्छ । नेपालले सन् १९९० को दशकदेखि बाघ संरक्षण कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गरिरहेको छ ।
यसरी गरिएको थियो पछिल्लो बाघ सर्वेक्षण
बाघको गणना हरेक चारदेखि पाँच वर्षको अन्तरालमा गरेर बाघको सङ्ख्या र यसको आहारा प्रजाति साथै वासस्थानको बारेमा समेत तथ्याङ्क सङ्कलन गर्ने गरिन्छ । बाघ सर्वेक्षणका लागि राष्ट्रिय बाघ तथा आहारा प्रजातिको अनुगमन विधी (प्रोटोकल) तर्जुमा गरिएको छ ।
प्रोटोकलबमोजिम पछिल्लो बाघ र यसको बासस्थान सर्वेक्षण गत पुस १ गतेदेखि सुरुआत गरिएको निकुञ्ज विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिए ।
बाघको बासस्थान रहेका राष्ट्रिय निकुञ्जहरू एवं वरपरको वनक्षेत्र समेटेर चितवन–पर्सा कम्प्लेक्स, बाँके–बर्दिया कम्प्लेक्स र शुक्लाफाँटा–लालझाडी कम्प्लेक्स गरी तीन क्षेत्रमा करिब तीन महिना लगाएर बाघ सर्वेक्षण कार्य सम्पन्न गरिएको हो ।
बाघ पाइने कम्प्लेक्सलाई विभिन्न ब्लकहरूमा विभाजन गरी ब्लकभित्र दुई किमी लम्बाइ र दुई किमी चौडाइका वर्गाकार ग्रिड बनाई हरेक ग्रिडमा एक जोडी स्वचालित क्यामेरा जडान गरी निरन्तर रूपमा कम्तीमा १५ दिन (रात)सम्म बाघको तस्बिर खिचेर र ती तस्बिरहरूको विश्लेषण गरी बाघको सङ्ख्या निकालिएको थियो ।
राष्ट्रिय बाघ सर्वेक्षण निकुञ्ज विभागको नेतृत्वमा वन तथा भूसंरक्षण विभाग, प्रदेश सरकार, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ नेपाल र जेडएसएल नेपालको सहयोगमा सम्पन्न गरिएको थियो । साथै यस कार्यमा राष्ट्रिय निकुञ्ज कार्यालय, डिभिजन वन कार्यालय, हात्तीसार, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, सामुदायिक वन उपभोक्ता समूह, वन प्राविधिक र स्वयंसेवकहरू परिचालन गरिएको थियो । यस कार्यका लागि करिब २५० जना जनशक्ति र करिब एक हजार १०० ट्याप क्यामेरा प्रयोग गरिएको थियो ।
सङ्ख्या बढेसँगै व्यवस्थापनमा चुनौती
नेपालमा बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् ।
त्यस्तै कतिपय अवस्थामा बाघको चोरी सिकारी हुने, स्थानीय जनताको आक्रोशको निशानामा पर्ने र ठूला तथा लामा पूर्वाधारमा वारपार गर्ने क्रममा बाघ मर्ने क्रम पनि उत्तिकै छ ।
बाघको सङ्ख्याको वृद्धि भएसँगै यसको आवश्यक सङ्ख्याका बारेमा बहससमेत सुरु भएको छ । तत्कालको वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको सङ्ख्याको ‘धान्ने क्षमता’ (क्यारिङ क्यापासिटी) ४०० हाराहारी रहेको पछिल्लो अध्ययनले देखाएको छ ।
















Discussion about this post